पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरका व्यवसायीहरुलाई नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरणका लागि आव्हान गर्न मंगलबारबाट बजार अनुगमन थालिएको छ ।
नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाको अगुवाईमा १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन, ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, जनप्रतिनिधि, प्रहरी, नगरका कर्मचारीहरुको टोलीले वडा नम्वर १ को पथरी बजारबाट अनुगमन् थालेको हो ।
अनुगमनका क्रममा, १ सय ४३ पसल एवम् व्यवसायमा अनुगमन् हुँदा ३३ वटा पसल नगरपालिकामा दर्ता नभएका र २८ पसल नविकरण नभएको तथ्याङ्क फेला परेको अनुगमन संयोजक वास्तोलाले जनाइन् । नगरपालिकामा दर्ता र नविकरण हुन बाँकी रहेका व्यवसायीलाई ७ दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित भएर दर्ता र नविकरण गर्न पत्र छोडिएको पनि उनले उल्लेख गरिन् ।
व्यवसायको अवस्थाका बारेमा जानकारी लिई उनीहरुलाई करको दायरमा ल्याउनका लागि अभियान अघि बढाइएको छ ।