धरान / कम्प्युटर शिक्षा दिनबाट बञ्चित ग्रामीण भेगमा सामुदायिक विद्यालयहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कहरूबाट कम्प्युटर प्राप्त गर्दा ठूलै सङ्कट टार्ने गरेका छन् ।

यसको ज्वलन्त उदाहरण बनेको छ, मोरङ रङ्गेली नगरपालिका–८ दर्बेशास्थित महालक्ष्मी मावि र कानेपोखरी गाउँपालिका–३ तल्लोहरकपुरस्थित शिक्षा सदन मावि । २००९ सालमा स्थापित महालक्ष्मी माविले विगत ६ वर्षअघिदेखि नै कम्प्युटर शिक्षा लागू ग¥यो । कक्षा ६, ७ र ८ सम्मका विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा दिने भनिए पनि विद्यालयको स्रोतबाट एउटा मात्रै कम्प्युटर खरिद गर्न सक्यो । त्यो एउटा कम्प्युटरले तीन वटा कक्षाका झण्डै ढेड सय विद्यार्थीलाई एक साथ शिक्षा दिन नसकेको विद्यालयका प्रधानाध्यापक ज्योती राजवंशी बताउँछन् । ६ वर्ष यसरी नै बित्यो । तर, बुधबार भने धरानको मितेरी विकास बैङ्कमार्फत् ५ वटा कम्प्युटर प्राप्त गरेपछि उनले राहत महसुस गरे । भन्छन्, ‘अब विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन सजिलो हुने भयो । एउटा कम्प्युटरबाट दुःखले पढाउँदै थियौं ।’

ग्रामीण भेगका सामुदायिक विद्यालयको यो आम समस्या हो । प्रविधिको विकासले फड्को मारिसक्दा पनि कम्प्युटर शिक्षा ‘एकादेशको कथा’ झैं बन्ने गरेको अनुभूति प्रअ राजवंशीको छ । सामुदायिक विद्यालयमा दिनप्रतिदिन घट्दो विद्यार्थी सङ्ख्यालाई न्यूनीकरण गर्न यसले ठूलो मद्दत गर्ने अपेक्षा उनले गरेका छन् । प्रविधिमैत्री शिक्षालाई अगाडि बढाउनका लागि मितेरी बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले बताए । समाजप्रतिको दायित्व र विद्यार्थीको भविश्यलाई मध्यनजर गर्दै कम्प्युटर प्रदान गरिएको उनले बताए । उक्त स्कुलमा गरिब तथा विपन्न परिवारका विद्यार्थीहरू अध्ययरत छन् । स्कुलमा ४५० को हाराहारीमा विद्यार्थी अध्ययन गर्ने प्रअ राजवंशीले बताए ।

त्यस्तै २०१९ सालमा स्थापित शिक्षा सदन माविलाई पनि ५ वटा कम्प्युटर र एउटा प्रिन्टर हस्तान्तरण गरेको छ । स्कुलका प्रधानाध्यापक नारायण काफ्लेका अनुसार ३ सय ६ जना विद्यार्थी अध्ययरत छन् । माथिल्लो कक्षाका विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा प्रदान गर्ने गरिएको उनले सुनाए । उक्त विद्यालयमा पनि सीमान्तकृत, आदिवासी, जनजाति तथा विपन्न परिवारका छोराछोरीहरू अध्ययरत छन् । बैङ्कका प्रमुख कार्यकारी अधिकृत वस्तीले आफू पढेको स्कुल मात्रै नभएर बैङ्कको अनुगमनबाट नै स्कुल छनौट गरिएको बताए । उनले विद्यार्थीहरूलाई बढीभन्दा बढी कम्प्युटर ज्ञान दिनका लागि शिक्षकहरूलाई आग्रह गरे । तर, हाल उक्त विद्यालयमा कम्प्युटर शिक्षकको अभाव छ । ‘गाउँपालिकाले कम्प्युटर शिक्षकको दरबन्दी मिलाइदिए राम्रो हुन्थ्यो’ अतिथिलाई स्वागत गर्दै स्कुलका शिक्षक हेमचन्द्र भण्डारीले भने ।

प्रमुख अतिथि भएर बसेका गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले पनि दरबन्दी दिने विषयमा सोच्ने बताए । उनले भने, ‘मैले यही मञ्चबाट दिन्छु भनेर प्रतिवद्धता गरिहाल्न सक्दिन । भरे, दिइन भने तपाइँहरूले प्रश्न गर्नुहुन्छ ? तर, सल्लाह गरेर केही चाहिँ गर्न सकिन्छ ।’ उनका अनुसार कानेपोखरी गाउँपालिकामा २३ वटा सामुदायिक विद्यालय छन् । जसमध्ये ८ वटा मावि र २ वटा प्लसटुसम्म अध्ययन हुन्छ । बाँकी निमावि र आधारभूत स्कुल रहेका छन् । उनले एउटा विद्यालयमा शिक्षकको दरबन्दी दिने बित्तिक्कै अन्य विद्यालयमा पनि दिनुपर्ने बाध्यता आइलाग्ने हुनाले निर्णय गरेरै केही गर्ने बताए ।

बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत कुल आम्दानीको एक प्रतिशतभन्दा बढी लगानी गर्ने गरेको सञ्चालक समितिका सदस्य किशन मास्केले जानकारी दिए । ‘अवस्था हेरि त्योभन्दा बढी पनि लगानी भएको अवस्था छ ।’ उनले भने । बैङ्कले रङ्गेली नगरपालिकाका प्रमुख दिलीप अग्रवाल र कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेको उपस्थितिमा सामग्री हस्तान्तरण गरेको हो । यसैबीच माथिल्लो हरकपुरको बाल माविको ल्याब अनुगमन गर्दै दिने÷नदिने विषयमा निर्णय गरिने बैङ्कका प्रमुख कार्यकारी अधिकृत वस्तीले जनाएका छन् ।