बदलिँदो मौसमसँग तराईको धरैजसो ठाउँ जस्तैः जनकपुर, सिरहा, राजविराज, विराटनगर, धरान आदि ठाउँमा झाडापखालाको प्रभाव बढ्दै गइरहेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी, ओपीडीमा हामी झाडापखालाका बिरामी बालबालिका पनि देखिन्छन् ।
 
झाडापखाला लागी बच्चालाई जलवियोजन भयो भने त्यस्तो अवस्थामा समयमै उपचार नभए बच्चाको मृत्यु हुनसक्छ । बारम्बार पखाला लाग्दा बच्चाको शरीरमा आवश्यक पर्ने पानीको मात्रा घट्न जान्छ । बालबालिका बिरामी पर्ने कारण यही हो भन्ने छैन । बिरामी पर्ने धेरै कारण हुन्छन् । बालबालिकालाई झाडापखाला लाग्नुको मुख्य कारण भाइरल, ब्याक्टेरियल, प्रोटोजोआले गर्दा बालबालिका झाडापखाला लाग्ने गर्दछन् ।
 
बालबालिकाहरू रोगसँग लड्न सक्ने क्षमतासमेत कम हुने भएकाले यसको सङ्क्रमण बढी देखिने गरेको हो । प्रदूषित वातावरण, फोहोर पानी, सागसब्जी र फलफूल पखालेको पानीका कारण रोटा भाइरसको सङ्क्रमण दर बढेको हो । झिँगामार्फत् पनि यो भाइरस सर्न सक्छ । फोहोर छोएर हात नधोई खाना खायौं भने त्यो पेटमा जान्छ । यदि फोहोर धेरै छ भने झिँगामार्फत् पनि यो भाइरस सर्न सक्छ । यो दिसा पिसाबसँगै अन्य फोहोरमा रहने कीटाणु हो ।
 
झाडापखाला रोग के हो ?
२४ घण्टा अर्थात् १ दिनमा ३ पटक वा सोभन्दा बढी पानीजस्तो पातलो दिसा भएको अवस्थालाई सामान्यतया झाडापखाला भनेर बुझ्नु पर्दछ । झाडापखाला विषाणु, जीवाणु र परजीवीका कारणबाट लाग्न सक्छ ।
 
झाडापखाला रोगमा जल वियोजन
 जलवियोजन भएका बालबालिकामा यी निम्न किसिमका अवस्था हुन सक्छन्ः 
(क) जलवियोजन नभएको, 
(ख) केही जलवियोजन भएको, 
(ग) कडा जलवियोजन भएको आदि ।
 
झाडापखाला कडा जलवियोजन
कडा जलवियोजनको अवस्थामा आलश्य, बेहोसीपन हुन्छ भने आँखाहरू गाडिएका र सुख्खा रहन्छन् भने आँशु हुँदैन । मुख र जिब्रो एकदमै सुख्खा हुन्छ र बच्चाले तरल पदार्थलगायत पानी पिउन सक्दैन । पेटको छालालाई तानेर छोड्दा निकै विस्तारै मात्र फर्कन्छ । पिसाब हुन छोड्ने अवस्था गम्भीर अवस्थामा पर्दछ ।
 
झाडापखालाको उपचार
झाडापखाला (डायरिया) मा कडा जलवियोजन भएको अवस्था भए डाक्टरले आइवी फ्लुड्स दिन्छ । यसले गर्दा शरीरमा पानी कमी हुनबाट रोक्छ । जुन बालबालिकाले डिहाइड्रेसनले गर्दा केही खान–पिउन नसके त्यस्तालाई आइवी फ्लुड्स चढाउने गरिन्छ ।
 
भाइरल सङ्क्रमण भएको डायरियामा सङ्क्रमण रोक्नको लागि प्रोबायोटिक्स दिइन्छ । ब्याक्टेरियल सङ्क्रमणको लागि एन्टीबायोटिक दिइन्छ । ई– कोलाई सङ्क्रमण डायरियाका रोगीलाई एन्टीबायोटिक दिने गरिन्छ । ५ वर्षमुनिका बालबालिकालाई जिङ्क चक्की १४ दिनु पर्छ । 
 
झाडापखाला हुनबाट बच्न ध्यान दिनुपर्ने कुराहरूः
झिँगा बसेको, बासी, नछोपेको खाने–पिउने चिज नखाने । हात धोएर मात्रै खाने, खुवाउने गर्नुपर्छ । बच्चालाई सफा राख्नुपर्छ । घरको वातावरण सफा राख्नुपर्छ । पानी उमालेर मात्रै पिउनुपर्छ । फलफूल राम्रोसँग पखालेर खानुपर्छ । बासी, तारेको भुटेको पिरो मसालेदार खानेकुरा तथा गहुँबाट बनेको खाद्यपदार्थ नखाने । रोटा भाइरसविरूद्धको भ्याक्सिन लगाउनुपर्छ ।
 
अमिलो, आलु, भण्टा, काउली आदिको अचार नखाने । बच्चा जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउने । खाना खानु वा खुवाउनुअघि साबुन–पानीले हात राम्ररी धुने गर्नुपर्दछ । बच्चा ९ महिना पूरा भएपछि दादुराको खोप दिनुपर्छ । सरसफाइमा परिवारका सबै सदस्यहरूले ध्यान दिने, शौचालयको नियमित प्रयोग गर्ने बानी बसाल्नु पर्दछ ।
 
बालबालिकाहरूमा यो रोग लागेमा शीघ्र डाक्टरकोमा लैजानु पर्छ । व्यक्तिगत सरसफाइ र वरिपरिको वातावरण सफा राख्ने गरेमा रोगबाट बच्न सकिन्छ । 
 
(डा.सिंह बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका बालरोग विशेषज्ञ हुन् ।)