भोजपुर / जिल्लाको अरुण गाउँपालिकाले शुरु गरेको प्रसुती स्याहार अभियानमा सुत्केरीलाई कुखुराको भालेसहितका सामाग्री दिन थालिएको छ । गाउँपालिकाले अभिभावकत्व ग्रहण गर्दै गत माघ महिनादेखी प्रसुती स्याहार अभियान कार्यक्रम अन्र्तगत सुत्केरीलाई कुखुराको भालेसहितका सामाग्री वितरण गर्न थालेको हो ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, डाक्टर, सम्बन्धित वडा सचिवलगायतको टोली सुत्केरी महिलाको घरमा पुगेरभाले सहित नवजात शिशुका लागी एक जोर कपडा , २ केजी चामल र नगद पाँच सय दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप गौतमले जानकारी दिए । टोलीले सुत्केरी महिलालाई भेटेर आमा र बच्चाको स्वास्थ्य जाँच गर्नुका साथै बच्चाको जन्म दर्तासमेत गर्ने गरेको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले बताए । अध्यक्ष कार्कीले भने –‘अभिवावकत्व ग्रहण गर्दै हामीले गाउँपालिका भित्र बसोबास गर्ने जोकोही महिला सुत्केरी हुन साथ भेटेर आमा र बच्चाको स्वास्थ्य लाभको कामनासहित कार्ड समेत दिने गरेका छौ ।’
उनका अनुसार यो अभियान सुत्केरीको अवस्था पहिचान गरी आर्थिक स्थिती कमजोर भएकाहरुलाई आवश्यक खाद्यन्न, लत्ता कपडाका साथै स्वास्थ्य अवस्था कमजोर भएमा निःशुल्क उपचार गर्ने योजनाका साथ सञ्चालन गरिएको हो । अभिभावकत्व ग्रहण अभियान सुरु भए पछि हालसम्म गाउँपालीकाले पहिलो चरणमा सुत्केरी भएका १३ जना मध्ये ८ जनालाई प्रसुती स्याहार सामग्री वितरण गरेको र बाँकी ६ जनालाई केही दिनमा प्रदान गरिने गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताइन । गाउँपालिकाको टोली घरमै भाले सहित भेटन आउदा माईतीबाट भेटन आए जस्तै लागेको वडा नम्बर ६ जरायोटारकी शोभा राई कटवालले सुनाइन ।