राजविराज /  प्रगतिशिल तराई मुक्ती मोर्चा ‘सिजन समुह’ का एक जना कार्यकर्ता पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका ९ का ४१ वर्षिय पशुपति चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत सोमवार कोशी ब्यारेजवाट पक्राउ परेका उनलाई प्रहरीले विहिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
माघ २ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी हबल्दार महेन्द्र सतरा यादवलाई गोली हानी घाईते वनाउनेदेखि इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरी बम बिस्फोट गराउनेसम्मका घटनामा उनी संलग्न रहेको प्रहरीको दावी छ ।
मोर्चाका कार्यकर्तालाई हतियार सम्वन्धि तालिम दिनेदेखि वम तथा एम्वुस तयार गर्नेसम्मका काम गर्दै आएका चौधरी १० वर्षसम्म नेपाली सेनामा कार्यरत रहेको एसपी राजेन्द्र विष्टले वताए ।
उनको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस अघि वुधवार मात्रै मोर्चामा रहेका सुरुङ्गा नगरपालिका ६ का ३५ वर्षीय दिपेन्द्र चौधरी प्रहरी कारबाहीमा मारिएका थिए । प्रहरीले पक्राउ गरी दिपेन्द्रको हत्या गरेको उनका आफन्तले आरोप लगाएका छन् । विहिवार घटनाको विरोधमा राजविराजमा प्रदर्शन पनि गरिएको छ । हिजो मारिएका चौधरीलाई पनि प्रहरी हबल्दार महेन्द्र सतरा यादवलाई गोली हानी घाइते बनाएको आरोप प्रहरीले लगाएको छ । यता पक्राउ परेका पशुपतिलाई पनि सोही घट्नाका दोषी भनिएको छ ।