ताप्लेजुङ / ताप्लेजुङमा आजदेखि चिसो ह्वात्तै बढेको छ । दिउँसोबाट पानी परिरहेको छ भने, उत्तरी भेगमा हिमपात भएको छ । पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएको छ । बिहानदेखि परेको हिउँ अहिले करिब ४ फिट जमिसकेको पाथीभराका पुजारी डिल्ली आचार्यले जानकारी दिए । हिउँ परेपनि तिर्थयात्री भने आइरहेको आचार्यको भनाई छ । यस्तो समयमा पाथीभरा जानेले गम्बुटको प्रयोग गर्दा उपयुक्त हुने उनले बताए । अहिले फेदी र काफ्लेपाटीसम्मै हिउँ परेको फेदीका इन्द्रदारायण भट्टराईले जानकारी दिए ।
चिसोबाट बच्न तातो र झोलिलो खानेकुरा, गेडागुडीको रस तथा न्यानो गरी बस्न चिकित्सकले सुझाएका छन् । दिउँसो अत्याधिक चिसोका कारण कतिपय विद्यालयले विद्यार्थीहरुलाई आगो तपाएका छन् । पाथीभरा याङ्वरक गाउँपालिकाको चाक्सिबोटे माध्यामिक विद्यालय र मिक्वाखोलाको पञ्चेश्वरी माविका विद्यार्थीलाई विद्यालयमै आगो बालेर तपाइएको हो । ताप्लेजुङको दिउँसोका अधिकतम तापक्रम १२ दशमलव २ डिग्री सेल्सीयस रहेको पूर्वी क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । यता मंगलवार दिउँसोको अधिकतम तापक्रम भने १७ दशमलव ५ डिग्रीसेल्सीयस रहेको थियो