धरान / धरान–६ स्थित पानवारी सामुदायिक वन उपभोक्ता समूहले वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत पुनरुत्पादन कार्यको थालनी गरेको छ ।
हस्तान्तरित २४१ दशमलव ४८ हेक्टर क्षेत्रफलमध्ये २ दशमलव ९५ हेक्टर क्षेत्रफलमा सोमबारबाट पुनरुत्पादन शुरु गरेको हो । वन विकासका लागि पुनरुत्पादन (कटान-राेपण) अनिवार्य मानिन्छ । समूहले २४१ दशमलव ४८ हेक्टर क्षेत्रफललाई ८ वटा कम्पाटमेन्टमा विभाजन गरेको छ । एउटा कम्पाटमेन्टमा १० वटा कुफ क्षेत्र निर्धारण गरिएको छ । एक कुफ क्षेत्र बराबर २ दशमलव ९५ हेक्टर क्षेत्रफल हुन आउँछ । जसमा वार्षिक करिब ६ हजार विरुवा रोपण गरिने समूहका सहसचिव विशान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रजनन क्षमता भएका रुखहरूको पहिचान गरी संरक्षण र धोद्रे, शिरिस, लसुन, औलिया जातका रुखहरूलाई कटान गरिने छ । त्यहाँ पुनः सखुवा, टीक जातका विरुवाहरू रोपिने छ । पुनरुत्पादनको प्रारम्भ धरान–६ का वडाध्यक्ष भुवनसिंह बस्नेत, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनोज न्यौपाने, सव डिभिजन वन कार्यालय पाँचकन्याका रेञ्जर ईश्वरीप्रसाद बास्तोलालगायतले गरे । हरेक वर्ष निर्धारण गरिएको कुफ क्षेत्रबाट कटान गरी पुनः रोपण गरिने छ । ८० वर्षसम्म पुनरुत्पादनको काम सञ्चालन हुने छ ।