तेह्रथुम / फेदाप गाउँपालिका ३ जलजलेमा केही युवाहरुद्धारा विवहा मण्डपमै बेहुली माथी सामुहिक कुटपीट गरेका छन् । कुटपिटबाट २२ बर्षिया बेहुली प्रतिक्षा सम्बाहाम्फे गम्भीर घाईते भएकी छिन् । झडपमा परी अन्य ३ जना पनि घाइते भएका छन् । सोमबार राती भव्य रुपमा बैवाहिक समारोह भैरहेका बेला समुहमा आएका युवाहरुले विबाह मण्डपमै वेहुली माथी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए ।
कुटपीटबाट बेहुली सम्बाहाम्फेको टाउकोमा गहिरो चोट लागेको छ । युवाहरुको सामुहिक कुटपिटबाट गम्भीर घाइते बेहुलीको उपचारका लागि गए राती नै धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । न्युरो सम्बन्धि समस्या भएकाले थप उपाचारका विराटनगर स्थित न्युरो अस्पताल लगिएको छ । सम्बाहाम्फेको पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नबमीका २२ बर्षिय सचिन आङदेम्बेसंग विबाह भैरहेको थियो । बेहुला आङदेम्बे भने सकुसल छन् । युवाहरुको कुटपिटबाट बेहुलीका दाजु देउमान सम्बाहाम्फे, स्थानीय सुमन खापुङ र टिकादेवी सम्बाहाम्फे घाईते भएका छन । घाईते बेहुलीका दाजु सम्बाहाम्फेलाई थप उपचारका लागि बिराटनगर तर्फ लगीएको र अन्य दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न बर्ष १९ का सरोज लिम्वु, १४ बर्षका ओमन लिम्वु, २१ बर्षका दिनेश लिम्वु, १९ बर्षका सुदी लिम्वु र १७ बर्षका मन्दिप लिम्वुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । कुटपीटमा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ । बेहुलीसँगको प्रेम सम्बन्धलाई लिएर झगडा भएको प्रहरीले आसंका गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक गौतामले जानकारी दिए ।