सिरहार / भेडाको रौंबाट बनेका कम्बलले बजार नपाउँदा उत्पादनमा कमी आउन थालेको छ । सिरहाको मिर्चैयामा उत्पादन हुँदै आएको कम्बलको माग घट्दै गइरहेको स्थानीय व्यापारीले गुनासो गरेका छन् ।
जिल्लाको अर्नमा गाँउपालिका वडा नम्बर १ महनौरका रामपाल गडेरी भेडाको रौंबाट कम्बल उत्पादन गर्दै साइकलमा डुलाउँदै बिक्री गर्दै आएका छन् । आफ्नै घरमा बनाइएका उत्पादन गाउँ– गाउँमा लाने गरे पनि बिक्रीमा कमी आएको गडेरी बताउँछन् ।
‘हामी करिब २० वर्ष अगाडिदेखि नै यो पेशा गरिरहेको छौं ।’ गडेरीले भने, ‘म आफू ७० थान भेडी राखेको छु, त्यसको रौंबाट वर्षेनी कम्बल बनाई बेच्दै आएको छु ।’
भेडाको रौंबाट उत्पादन भएको कम्बल बिक्री गरेर वार्षिक दुई–तीन लाख आम्दानी हुने गरेको भए पनि हाल बजार नपाउँदा एक लाख रुपैयाँसम्म पनि आम्दानी गर्न गाह्रो हुने गरेको गडेरीको भनाइ छ ।
देश–विदेश खुलेपछि यसको मागमा कमी भएको उनी बताउँछन् । मागमा कमी भएपछि व्यापार छाड्नेको लर्को नै लागेको गडेरीले बताए । ‘पहिला हाम्रो गाँउमा २०–२५ जना भेडापालन गरी यो व्यापारमा लागेका थिए तर हाल बजार नपाँउदा धेरैले यो व्यापार छाडेको छ ।’
गडेरी भन्छन्,– ‘सरकार पक्षबाट कुनै सेवा सुविधा हालसम्म नपाए पनि यो उत्पादन भएका कम्बल निर्यात गर्न पाए हुन्थ्यो ।’