उदयपुर /  उदयपुरलाई पुस १३ गते एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषणा गरिने भएको छ ।  अनौपचारिक जिल्ला शिक्षा समितिको मुख्य आयोजनामा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।
नेपाल सरकारको साक्षर अभियान अन्तर्गत जिल्लालाई सबै मापदण्ड पूरा गरी घोषणा गर्न लागिएको समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताए । देशभरिकै ४८ औँ स्थान तथा प्रदेश–१ को १० औँ स्थानमा साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको परियारले बताए ।
उद्घाटन समारोहमा गाईघाटको भवगती मन्दिर परिसरमा निर्माण गरिएको साक्षर जिल्ला स्तम्भको उद्घाटन तथा १५ हजार भन्दा बढीको बृहद् ¥यालीका साथ साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको अध्यक्ष परियारले बताए ।
बिहीबार साक्षर जिल्ला घोषणा सम्बन्धी बसेको समितिको बैठकले कार्यक्रमको तयारी र व्यापक प्रचार–प्रसारमा लाग्ने निर्णय गरेको छ । प्रचार–प्रसार समितिमा सरोकारवाला सबै क्षेत्रका करिब एक हजार सदस्य रहेको समितिले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरू, शिक्षा क्षेत्रका सरकारी तथा गैरसरकारी निकाय, पत्रकार महासङ्घ प्रतिनिधिलगायतको बैठकले उक्त निर्णय गरेको परियारले बताए ।