सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्रमा भएको प्रहरी कारवाहीमा आईतवार राती १ जनाको मृत्यु भएको छ ।

सुनसरीको कोशी गाउँपालिका-७ मुसहरी टोलमा राती ०९:४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा सीमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको संयुक्त गस्ती टोली र अपरिचित व्यक्तिहरु बीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर अज्ञात व्यक्तिको मृत्यु भएको हो ।

रातको समयमा ४-५ जनाको समुह भारतबाट नेपाल छिर्ने क्रममा प्रहरीले रोक्न खोज्दा सो समूहबाट प्रहरी माथि गोलि प्रहार गरेको र आत्मरक्षाको लागि जवाफी फायर गर्ने क्रममा अन्दाजी बर्ष ३५ को पुरुष व्यक्तिलाई गोली लागी घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले गोली लोड भएको कटुवा पेस्तोल थान २, तथा मृतकको पाईन्टको खल्तीबाट ५ वटा गोली समेत बरामद गरेको छ । शव पोष्टमार्टमको लागी बि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।

मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन, साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको र फरार रहेका अन्य व्यक्तिहरुको समेत खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।