जनकपुरधाम/ प्रदेश नम्बर २ को राजधानी जनकपुरधाममा विवाह पञ्चमी महोत्सव आज (आइतबार) धनुष यज्ञ कार्यक्रम गरी मनाइदै छ ।

धनुष यज्ञका लागि पाँच फिटभन्दा ठूलो धनुष तयार गरिएको छ । आइतबार नै बाह्र बिघा (रंगभूमि) मैदानमा भगवान रामले धनुष उठाएर भाँच्ने र राम–सीता स्वयंवरको कार्यक्रम हुनेछ । आइतबार ४ बजे हुने धनुष यज्ञका लागि राजा जनक, महारानी सुनैना, भगवान राम र सीताका स्वरूपमा सजिएर झाँकी प्रदर्शन गर्ने तयारी छ । स्वयंवरको लागि भव्य पण्डालसमेत निर्माण गरिएको छ ।

त्रेताकालमा दधीचि ऋषिको हड्डीले बनेको धनुषलाई उठाउन विभिन्न राजा महाराजा जनकपुर आएको तर कसैले उठाउन नसककेको र भगवान रामले धनुष उठाउन खोज्दा भाँचिएपछि उनैलाई सीताले स्वयंवर गरिएको थियो । सोही मान्यताको निरन्तरतास्वरूप रंगभूमी मैदानमा विभिन्न व्यक्तिलाई राजा महाराजा र भगवानको भेषमा तयार गरिने छ ।

त्यस्तै मिथिलाको परम्पराअनुसार आज साँझ मैथिली गीत संगीतको कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी छ । आजैबाट नेपाल र भारतका विभिन्न सांस्कतिक समूहले पनि आ–आफ्नो प्रस्तुति दिनेछन् । भगवान रामले धनुष भाँचेको हेर्न नेपालका विभिन्न स्थानसहित भारतबाटसमेत हजारौँ श्रद्धालु आउने अनुमान गरिएको छ । यसका लागि सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको छ । महोत्सवमा २४सै घण्टा नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा दिइरहेका छन् ।

महोत्सवअन्तर्गत शनिबार जनकपुरधामस्थित जानकी मन्दिरसँगै जोडिएको विवाहमण्डपमा फुलबारी लीला सम्पन्न भएको थियो । त्यस्तै प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा रंगभूमि मैदान सिङ्गारिने, सरसफाइ र पण्डाल निर्माण तीव्र गतिमा भइरहेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ महोत्सवमा सहभागी बन्ने भएपछि सम्पूर्ण तायरी पूरा गरेको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत बताउँछन् । जनकपुरधाममा राजा जनकद्वारा धनुषको ताँदो चढाउन प्रस्ताव भएकामा अयोध्याका राजकुमार रामले धनुष उचाली ताँदो चढाउन लाग्दा भाँचिएपछि गुरू विश्वामित्रको साथमा आका उनले सीतासँग स्वयंवर गरेको संझनामा यहाँ सीताराम विवाह महोत्सव मनाइने चलन चलेको हो ।

विवाह पञ्चमी अवधिभर मदिरा निषेध

धनुष यज्ञको प्रारम्भदेखि विवाहपञ्चमीको अवधिसम्म मदिरा बन्द गर्ने निर्णय स्थानीय सरकारले गरेको छ । जनकपुरकै सबैभन्दा ठूलो पर्व विवाहपञ्चमीका बेला आपराधिक क्रियाकलाप र होहल्ला हुन नदिन मंसिर २७ गतेसम्म मदिरा निषेध गरिएको हो ।

सुरक्षा व्यवस्थामा कडाइ

विवाहोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने भएपछि प्रदेश सरकारले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । विवाहपञ्चमीसँगै मुख्यमन्त्री योगीको सुरक्षालाई लिएर आफूहरू गम्भीर रहेको प्रदेश सरकारले जनाएको छ ।

भ्रमणको समयमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए । यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले ३ हजार ५ सय नेपाल प्रहरी परिचालन गरिने बताए । २ हजार ५ सय सशस्त्र प्रहरी समेत परिचालन गरिने छ ।