भाइबहिनीको हो, आज हामीले प्रा.डा. गोपाल भण्डारीको सानो छदाको विषयमा लेखेका छौं । उनले भवानी भिक्षुका कथामा मनोविज्ञान भन्ने विषयमा विद्यावारिधि गरेका हुन् । २०५२ सालमा विद्यावारिधि पूरा गरेका उनले २०३५ सालदेखि शिक्षण पेशामा आवद्ध भए । हालै महेन्द्र बहुमुखी क्याम्पस धरानबाट सेवा अवकास भएका उनको घर धरान–१३ को जिरोपोइन्टमा पर्छ ।

सानैदेखि काकाहरूले चण्डी पाठ गरेको सुनेपछि त्यस्तै चण्डी पाठ गर्ने भूत सवार भयो धनकुटा ताङ्खुवा गाविसका गोपाल भण्डारीलाई । काकाझैं भाका हालेर चण्डी र रुद्री पढ्ने भोककै कारण उनको पढाइको प्रारम्भ भयो ।

गाउँमा स्कुल थिएन । त्यो बेला स्कुल एकादेशको कथाझैं थियो । पाठशाला भनिन्थ्यो । त्यो पनि गाउँमा हुने कुरै भएन । राणा शासनको अन्त्यपछि बिक्रम सम्वत २००८ पुष २८ गते जन्मिएका उनी त्यही ५–६ वर्षको हुनुपर्छ । चण्डीको श्लोक पढ्ने उत्कट अभिलाषाका कारण काकाहरूसगै आधा घण्टा उकालिएपछि आउँने शिवालय मन्दिरमा पढाइ हुन्थ्यो । त्यहा क, ख, दुनाई (गुणाभाग), अ आ, १, २ सिकाइन्थ्यो । चण्डी र रुद्री अनिवार्य थियो । आफ्नै काका बेणीमाधव भण्डारी पाठशालाका शिक्षक थिए । बुबाको आग्रहमा पढ्ने वातावरण मिलेको थियो । क, ख भन्दा पनि उनलाई त्यही चण्डी र रुद्रीले मन खिचेको थियो । ‘काकाहरू चण्डी–रुद्री पढ्नुहुन्थ्यो । त्यो सुन्दा त्यसरी नै श्लोक भन्न पाए क्या राम्रो हुन्थ्यो भन्ने लाग्थ्यो ।’ विगत यसरी सुनाउँछन् ।

त्यो बेलामा बुबा धरानको पिण्डेश्व विद्या पीठका गुरु थिए । बुबा घरमा गएका बेला यताबाट मिठाइ लिएर जाने र फर्किदा खेरी तलाई के ल्याइदिउ भनेर सोधेकै कारण उनले चण्डीको नया पुस्तक पाएका थिए । अनि आफ्ना काकाहरूलाई देखाउदै अब म पनि तपाइहरू झैं श्लोक हाल्ने भनेर भन्थे । तर, अक्षर चिन्या भए पो । हजुरबुबा र हजुरआमाको काखमा हुर्किएका उनलाई हजुरबुबाले नै काठको सानो पाटीमा रातो कमेरो माटो लिपेर सिन्कोले क, ख लेखाए । ‘अह त्यसमा मेरो मन गएन, चण्डीको धुन हुन्थ्यो । त्यसमा झन्झट लाग्यो ।’ उनी भन्छन्, ‘पढ्न चाहि हतार भइरहेको थियो । एकवर्षपछि मात्रै चण्डी पढाउनु थाल्नुभयो ।’

विस्तारै अक्षर चिन्दै गए । चण्डी घोकाइ पनि निरन्तर चल्यो । चण्डीको भूतका कारण उनले आधा घण्टाको उकालोको दुःख भुल्थे । ‘काकाहरूसँग हिड्दा हिडेजस्तै लाग्दैनथ्यो ।’ उनी भन्छन् । पाठशालामा क, खसगै छुट्टि हुनेबेलामा हरेक दिन दुनाई २ देखि २० सम्म भनेर घर फिर्नु पथ्र्यो । शुरुवाती दिनमा रित्तो हात जान्थे । पाटी पनि थिएन । पछि बुबाले पढ्ने रहर ग¥यो भन्दै कालो पाटी किनेर ल्याइदिएको उनी स्मरण गर्छन् । त्यही कालोपाटी र वर्णमालाको किताब पढेरै उनको २ वर्ष बित्यो । पाठशालामा पढ्नेभन्दा पनि खेलेरै बित्यो ।

२०१५ सालतिर छोराले पढ्ने रहर ग¥यो भनेर हजुरबुबालाई धरान पठादिनका लागि भन्नुभएछ । त्यो बेला धरान भन्ने ठाउ कस्तो छ कल्पनामा थिएन । तर धरानबाट फर्किएकालेले धरानको कथा सुनाउथे । ‘धरानमा गाडी, बेलुका झिलिलि बत्ति बल्छ भनेर कथा सुनाउथे ।’ उनी भन्छन् । हजुरबुबाको साथ लागेर काका र उनी धरान हानिए । त्यो बेला धरान आउन गाडीघोडा थिएन । पैदलै आए । दुई दिन लगाएर उनी धरान आइपुगेको स्मरण गर्छन् । त्यो बेला तमोर खोलामा पुल थिएन । काठको नाउ तरेर आए ।

धरान झरेपछि बुबासँगै पिण्डेश्वर आउजाउ हुन थाल्यो । बुबाले नभ्याउदा उनलाई काकाहरूले डो¥याउथे । पहिलो पटक गाडी देख्दा उनी तर्सिए । ‘त्यो बेला विजयपुर अगाडि गाडी पार्किङ गरेर राखेका थिए । काकाले लु हेर यहीको गाडी भनेर भन्नुभयो । आफूलाई नजिक जानै डर लाग्ने । छुनै डर लाग्ने । काकाले केही हुदैन आइज भन्नुभयो ।’ उनी विगत सम्झदै भन्छन्, ‘काकाले यही गाडीले विराटनगर, जोगमनी पु¥याउछ भन्नुहुन्थ्यो ।’ गाडी धेरै पछि मात्रै चढे । पीठमा आउने बडाहाकिमले ल्याएको गाडी चढ्ने अवसर जुट्यो । बुबा पीठकै गुरु भएकाले बडा हाकिमले छाताचौकसम्म ल्याइदिने भएपछि आफूले गाडी चढेको अनुभूति गर्छन् । त्यो क्षण २०१७ सालको हुनुपर्छ ।

‘गाडीमा चढाइदिएपछि एक छिन रोए कराए त्यसपछि बुबाले केही हुदैन भन्नुभयो ।’ उनी भन्छन् । जीवनमा पहिलो पल्ट गाडी चढ्दा उनले नजिकका रुखहरू कुदेको देखे । पिण्डेश्वरमा लघुकौमुदी (संस्कृत व्याकरण) पढाइन्थ्यो । अमरकोष भन्ने संस्कृतकै शब्दकोष पढाइहुन्थ्यो । त्यो चाहि अनुष्टुप छन्दमा पढ्नुपर्ने भएकाले लघुकौमुदीभन्दा केही सहज थियो । विस्तारै अन्य विषय गणित, नेपाली, भूगोल, ईतिहास पढ्न थाले । तर, पढ्नु कम खेल्न बढी हुन्थ्यो । जसका कारण एकवर्ष फेल पनि भए । फेल भएपछि पढ्नुपर्ने रहेछ भन्ने ज्ञान आएको उनी बताउँछन् ।

कहिलेकाही होमवर्क नगरेर गुरुको हातको कुटाइ पनि खाए । त्यो बेला अङ्ग्रेजीमा माने सोध्ने चलन थियो । माने नजान्दा पनि पिटाइ खाएको स्मरण गर्छन उनी । स्कुलमा उनी खेलकुदमा एकदमै बढी रुची लिन्थे । खेलकुदमा झण्डै ७–८ वटा पुरस्कार पाउथे । कविता प्रतियोगिता, हिसाव दौड, हाइजम्प, खेलकुदमा जितिरहन्थे ।

मोजाको फुटबल बनाएर खेल्ने हुँदा त्यो बेलामा खुट्टा मर्काएको उनी कहिल्यै भुल्दैनन् । कक्षा ६ मा पढ्दा ताका स्कुल छुट्टि पछि फुटबल खेल्न बस्थ्यौं । खुट्टा मर्केपछि उनी हल न चल भए । साथीहरूले जसोतसो बजारसम्म छाडिदिए । खोच्याउदै अबेर साझ मात्रै घर पुगे । खुट्टा मर्काएका कारण बुबाको गाली खाइने डर एकातिर थिदैथियो भने अर्कातिर खुट्टा मर्किएकाले सुन्निएको थियो । ‘बुबाहरू खाना खाइवरी मलाई खोज्नुभएछ । म घर पुगेपछि हातखुट्टा धोएर खाना खान जा भन्नुभयो । त्यो बेला मेरो व्रतबन्ध भइसकेको थियो । ब्राम्हणहरूले खाना खानेबेलामा लुगा खोल्नुपथ्र्यो । अन्य लुगा खोलियो तर, सुरुवाल खुस्केन । पछि बुबाले गाली गर्दै ब्लेड ल्याएर सुरुवाल नै काटिदिनुभयो ।’ उनी भन्छन्, ‘त्यो सम्झना अहिले पनि मनमा ताजै छ ।’

एवम् रीतले उनी २०२४ सालमा पूर्वमध्यमा (एसएलसी सोसरह) को परीक्षा दिए । परीक्षामा प्रारम्भिक नेपालीमा झण्डै–झण्डै फेल भएको बताउँछन् । त्यो विषय आफूलाई एकदमै आउने भएकाले शिशिरवसन्तको कथा सोधेको थियो । त्यो कथा लेख्न थाल्दा झण्डै १ घण्टा बित्यो । बाकी आधा घण्टामा अन्य प्रश्नको उत्तर लेख्नुपर्ने । एकघण्टासम्म जम्मा ६ नम्बरको सिध्याइएको थियो । थोरै भए पनि सबै प्रश्नको उत्तर दिनुपर्छ भनेर स्कुलिङ गरेको झट्ट सम्झे । अली–अली लेखेर कापी बुझाइदिए । पछि रिजल्ट आउदा अरु विषयमा राम्रो आए पनि त्यसमा जष्ट पासमात्रै भएको उनी बताउछन् । ‘बुबाहरूले त“–त फेल भएको रहिछस् कृपाङ्क दिएर पास भएको भन्नुभयो । त्यसपछि त झन डर लाग्यो ।’ उनी भन्छन् ।

एसएलसीको समयमा उनी बिहान २ घण्टा, साँझमा डेढ घण्टा पढ्ने गरेको सुनाउँछन् । त्यसपछि उत्तरमध्यमा, शास्त्री सेकेण्ड डिभिजनमा पास भए । २०२८ सालमा शास्त्री सकेपछि उनी अदालतमा विचारी पदमा जागिर खाए । त्यो बेला उच्च अदालत धरानमै थियो । तर, उनको पोष्टिङ भने इनरुवाको जिल्ला अदालतमा थियो । एमए पढ्ने उत्कट इच्छा थियो । तर, धरानमा नभएकाले उनी त्यसै खुम्चिए । बुबाले पढ भने पनि साथीको लहैलहैमा उनले पढाइ बिट मारेर जागिर तिर लागे । तर, विचारी पदमा जागिर खाएको ४–५ दिनमै उनलाई रहर म¥यो । संस्कृत पढेका उनी अदालती भाषा बुझ्न कठिन भयो । राजिनामा लेखेर जागिर त्याग्ने सोचेका थिए । तर, अर्का कर्मचारीले बेतलवी बिदा बस्न सुझाव दिएपछि उनी त्यसै गरेर काठमाडौं हानिए ।

काठमाडौं पुग्दा थाहा भयो त्रिभुवन विश्वविद्यालय विद्यार्थीको हड्तालका कारण बन्द भएको रहेछ । पहिलो पटक काठमाडौं पुगेका उनी केही दिनको बसाइपछि फेरि इनरुवा आएर काम थाले । २ वर्ष काम गरेपछि हैन, एमए पढ्नुपर्छ भन्ने लागेर उनले प्राइभेटबाट भर्ना भए । तर, उनको पहिलो वर्षको परीक्षाको मिति ट¥यो । तर, संयोगले त्यो बेला पनि क्याम्पसमा हड्ताल भएका कारण परीक्षा सरेको रहेछ । धरानकै साथीमार्फत् थाहा पाएपछि उनले परीक्षा दिए । छोटो अवधिमा राम्रै गरी उर्तीण भएपछि दोस्रो वर्षका लागि तयारीमा जुटे । दोस्रो वर्ष उनले क्याम्पसभरीमा प्रथम डिभिजन हान्ने विद्यार्थीमध्ये उनी तेस्रा भएको रहेछन् । अन्यबेला सामान्य विद्यार्थी उनी एमएमा गएर प्रथम डिभिजनमा पास भए ।

एमए पास भएपछि २०३४ सालमा काठमाडौं जागिर खोज्न गए । प्रथम श्रेणी ल्याएपछि जागिर खान सजिलो थियो । तर, भनसुन नगरी जागिर नपाइने भएपछि आफन्तमार्फत् काङ्ग्रेसका नेता नारायण खड्काले पब्लिक क्याम्पसमा जागिर लगाइदिए । सहायक प्राध्यापकमा ६ महिने अस्थायी नियुक्ति भयो ६५० रुपैयाँमा । २०३५ सालमा त्रिवि सेवा आयोग खुल्यो । उपप्राध्यापक र सहायक प्राध्यापक दुवैमा भरे । २०३६ सालमा उपप्राध्यापकमा स्थायी भए । त्यो बेलामा धरानमा कोटा खाली भएछ । नेपाली पढाउने प्राध्यापक माणिकलाल श्रेष्ठ क्याम्पस प्रमुख हुनुभएछ ।

त्यसपछि कोटा खाली भएको ठाउँमा २०३७ सालमा मिलाएर धरानको महेन्द्र बहुमुखी क्याम्पसमा आइयो । २०४०–४२ सालमा विद्यावारिधि गर्न मन लाग्यो । तर २०४६ सालमा मात्रै विद्यावारिधिको लागि तयारी गरियो । भवानी भिक्षुको मनोविज्ञानका विषयमा विद्यावारिधि गरियो । २०५२ सालमा भाइवा सिध्धियो । त्यसपछि साहित्य पनि लेख्न थाले ।

उनी विद्याथीहरूलाई बुझेर शिक्षा आर्जन गर्न आग्रह गर्छन् । आफ्नो जमानाको जस्तो घोकन्ते विद्या भन्दा पनि बुझेर शिक्षा आर्जन गर्न सकेमा त्यसले कालान्तरसम्म फाइदा पुग्ने उनको बुझाइ छ । कतिपय विषयमा घोक्नु पनि पर्छ । तर, हिजोको जस्तो शिक्षा अहिले नभएकाले विद्यार्थीले राम्रो डिभिजन ल्याउनका लागि बिहान २ घण्टा र बेलुका डेढ घण्टा पढे एकदमै उत्तम हुने उनी बताउँछन् ।