भोजपुर / भोजपुर नगरपालिका–१० भैसीपङ्खास्थित जाल्पादेवी माविमा २ लाख २५ हजारको अक्षयकोष स्थापना गरिएको छ ।

कान्ति बाल अस्पताल काठमाडौंका निर्देशक तथा वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर गणेश राई र सस्कृतिविद् डाक्टर भक्त राईको पहलमा बिहीबार अक्षयकोष स्थापना गरिएको हो । उनीहरूको पहल र हङकङमा कार्यरत भैसीपङ्खाका रमेशकुमार राईको सक्रियतामा हङकङबासी नेपालीहरूले अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षय कोषको व्याजबाट विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका जेहेन्दार विद्यार्थी १ छात्र र १ छात्रालाई प्रत्येक वर्ष छात्रबृति प्रदान गरिने विद्यालयले जनाएको छ ।

यस्तै गरिब तथा विपन्न वर्गबाट एक र दलित समुदायबाट एक जना विद्यार्थीलाई पनि छात्रवृति प्रदान गर्ने निर्णय गरिएको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कृपाराम राईको अध्यक्षतामा बसेको बैठकमा एनआईसी एसिया बैङ्क भोजपुर शाखामा कोष जम्मा गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक बमबहादुर कार्कीले बताए ।

डा.भक्त राईले २०३६ सालमा आफू सोही विद्यालयमा अध्ययन गरेको स्मरण गर्दै आफनो नाम अगाडि डा. लेख्न विद्यालय र शिक्षकहरूको उल्लेख्य भूमिका रहेको स्पष्ट पारे । उनले अक्षयकोषलाई बढाएर पाँच लाख पुर्याउने आश्वसनसमेत दिए ।

वडाध्यक्ष सुबिन्द्र राईले विद्यालयमा भएका समस्या समाधन गरी तत्काल शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्घोष गरे ।