जनकपुरधाम/ जनकपुरधाममा आउँदो यही मङ्सिर २६ गते जनकपुरधाममा आयोजना हुने विवाहपँचमीको लागि सरोकारवालाहरुले उत्साहपूर्ण रुपमा तयारी गरिरहेको बताएका छन् ।

विगतका कालमा हात्ति घोडामा अयोध्याबाट जन्ती आउने परम्परा परास्त हुँदै गएपनि जनकपुरधाम प्रत्येक वर्ष लाग्ने विवाहपँचमी महोत्सवको रौनकता भने अझै नगएको महसुस गर्न सकिन्छ ।

महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् श्रीरामको प्रतीक स्वरूप आउने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सहभागिता रहने चर्चा छ ।

प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा रंगभूमि मैदानसम्म सिङ्गारिने, सरसफाइ र पण्डाल निर्माण तीव्र गतिमा भइरहेको छ ।

सुरक्षाकर्मी, राजनीतिकर्मी, समाजसेवी, नागरिक समाजका अगुवाको सहभागितामा बाह्रबिघाको सरसफाइ र उपमहानगरपालिकाद्वारा समेत तीव्र गतिमा जानकी मन्दिर आसपासका सडक निर्माण, सडक व्यवस्थित गर्ने कार्य भइरहेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगीको महोत्सवमा सहभागिता समेतलाई दृष्टिगत गर्दै स्वागत, भण्डारा लगायत सम्पूर्ण कार्यक्रम तय गरिसकिएको प्रष्ट प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत बताउँछन् ।

जनकपुरधाममा राजा जनकद्वारा धनुषको ताँदो चढाउन प्रस्ताव भएकामा अयोध्याका राजकुमार रामले धनुष उचाली ताँदो चढाउन लाग्दा भाँचिएपछि गुरू विश्वामित्रको साथमा आउनु भएका उहाँले सीतासँग स्वयंवर गर्नुभएको संझनामा यहाँ सीताराम विवाह महोत्सव मनाइने चलन चलेको हो ।

रामायणमा उल्लेख भएअनुसार जनकपुरधामको बाह्रबिघामा आयोजना गरिएको सो स्वयंवरमा विभिन्न देवीदेवताको उपस्थिति थियो । सोही विवाहको प्रसङ्गलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्नु नै सीताराम विवाह महोत्सवको विशेषता हो ।


सीतालाई छोरी र बहिनीका रूपमा मान्ने मिथिलावासी विवाह महोत्सवमा देवीदेवताको शरीर नभए पनि अदृश्य रूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

रामलाई ज्वाइँ एवं भिनाजुका रूपमा श्रद्धा व्यक्त गर्दै प्रतीकात्मक सीताराम विवाह महोत्सवमा।

‘एक दिन आहे सीता मन्दिर निपय गेली
धनुषा देल ओङ्गठाय
घरसँ बहार भेली सुनयना
बैस गेली देहरि झमाय ।।
भनी गित गाउने गर्छिन् विवाह महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाइ धर्मावलम्बी पनि सहभागी हुने गर्दछन् । महोत्सवका क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह गरिँदा त्रेतायुगको झलक कलियुगमा पनि देख्न पाइन्छ ।

यसअन्तर्गत पौराणिक व्यवस्थाअनुरूप राममन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी बाह्रबिघा पुर्याइन्छ भने जानकी मन्दिरबाट सीतालाई सुसज्जित डोलामा राखी बाह्रबिघा लगिन्छ ।

विवाहपञ्चमीमा १० लाखभन्दा बढी दर्शनार्थी भित्राउने तयारी
विवाहपञ्चमीमा १० लाखभन्दा बढी दर्शनार्थी भित्राउन जानकी मन्दिरदेखि प्रदेश सरकारले तयारी तीव्र बनाएका हुन् । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाईने विवाहपञ्चमी पर्वको तयारी एक महिना पहिलेदेखि नै सुरु हुने गर्दछ ।

विवाहपञ्चमी पर्वले त्रेता युगको झल्को दिने गर्दछ । त्रेता युगमा जसरी राम र जानकीको विवाह भएको थियो , ठीक त्यसकै शैलिमा विवाह समारोहको आयोजना हुने गर्दछ ।

राम र जानकीको मिथिला परम्परा अनुसार प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन विवाह सम्पन्न हुने गर्दछ । विवाहपञ्चमी पर्वको सबैभन्दा ठूलो आकर्षण अयोध्याबाट आउने जन्ती नै हो ।

जसरी मिथिलामा विवाहको समयमा जन्तीहरुलाई आदर सत्कार गरिन्छ त्यसरी नै आदर सत्कार गर्नका लागि प्रदेश सरकारले बिशेष तयारी गरेको छ ।

विवाहपञ्चमीमा जन्तीको रुपमा साधु सन्तदेखि लाखौ श्रद्धालुहरुको जनकपुरधाममा आगमन हुन्छ । जन्तीमा आउने साधु सन्तलाई धोती र तौलीया दिएर स्वागत गर्ने तयारी प्रदेश सरकारले गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

स्वागत सत्कारका लागि प्रदेश सरकारले ५० लाख रुपैया खर्च गर्ने बताईएको छ । विवाहपञ्चमीलाई भव्य बनाउनका लागि प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यीकरण, रंगभूमि मैदान १२ विघाको सरसफाई, अस्थायी बासको व्यवस्था, अस्थायी शौचालयको व्यवस्था गर्न लागेको छ ।

विवाहपञ्चमीमा प्रत्येक वर्ष जनकपुरधाममा ठूलै भीड लाग्ने गर्छ । यस पटक विवाहपञ्चमीमा १० लाखभन्दा बढी श्रद्धालु जनकपुरधाम आउने अनुमान गरिएको छ ।

हिन्दु मत पक्षमा पार्न योगीको जनकपुरधाम भ्रमण भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विवाहपञ्चमीमा आउने जन्तीको अगुवाई गर्ने भएपछि विवाहपञ्चमीको रौनकता अझ बढ्ने स्थानीयवासीहरुको ठम्याइ छ ।

मुख्यमन्त्री योगीको जनकपुरधाम भ्रमणलाई लिएर पत्र नआएपछि उनको जनकपुरधाम भ्रमण हुने नहुनेमा शंका रहेको थियो तर प्रदेश सरकार स्रोतका अनुसार नेपाल सरकारले योगी भ्रमणको सम्बन्धमा प्रदेश सरकारलाई पत्र पठाई सकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जन्तीको अगुवाई गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका थिए ।

तर भारतको विभिन्न राज्यमा हुन लागेको निर्वाचनलाई दृष्टिगत गर्दै मोदीले आफ्नो दूतको रुपमा योगी आदित्यनाथलाई जनकपुरधाम पठाउन लागेका हुन् ।

हुनत राजनीतिक विश्लेषकहरुले योगीको जनकपुरधाम भ्रमण भारतमा सन २०१९ मा हुने लोकसभा निर्वाचनलाई जोडेर हेरिरहेका छन् । भारतमा राम मन्दिरको मुद्दा जोडतोडका साथ उठिरहेको समयमा उनको यो भ्रमणले हिन्दु मत आफ्नो पक्षमा पार्न कै लागि योगीको जनकपुरधामको भ्रमण हुन लागेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभको को बुझाई छ ।

उता मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरधामका संचारकर्मीहरुसँग लखनउमा कुराकानी गर्दै यो अडकलवाजीलाई अस्वीकार गरेका छन् । उनले आफ्नो जनकपुरधाम भ्रमण विशुद्ध रुपमा सांस्कृतिक भ्रमण हुने बताई सकेका छन् ।

जनकपुरधामको भ्रमणको क्रममा मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाआजा गर्नुका साथै रामजानकी विवाहको स्वयम्बरमा सहभागी हुनेछन् । यसका साथै रंगभूमि मैदान १२ विघामा उनले छोटो मन्तव्य राख्ने कार्यक्रम समेत रहेको जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

विवाहपञ्चमी सुरक्षा व्यवस्थामा कडाइ
लाखौँको सहभागिता रहने विवाहोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने भएपछि प्रदेश सरकारका लागि थप सुरक्षा चुनौती बनेको छ ।

प्रदेश सकार समेत आफूहरु सुरक्षा व्यवस्थालाई लिएर गम्भीर रहेको जनाएको छ ।

विवाहपञ्चमी सुरक्षा व्यवस्थामा कडाई मुख्यमन्त्री योगीको सुरक्षालाई लिएर आफुहरु गम्भिर रहेको प्रदेश सरकारले जनाएको छ , उनको भ्रमणको समयमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले ३ हजार ५ सय नेपाल प्रहरी परिचालन गरिने बताए ।

२ हजार ५ सय सशस्त्र प्रहरी समेत परिचालन गरिने छ ।

विवाह पञ्चमी अवधिभर मदिरा निषेध
अगामी २३ गतेदेखि विवाहपञ्चमीको अवधिसम्म मदिरा बन्द गर्ने निर्णय भएको छ।

जनकपुरकै सबैभन्दा ठूलो पर्व विवाहपञ्चमीका बेला आपराधिक क्रियाकलाप र होहल्ला हुन नदिन अगामी मंसिर २७ गतेसम्म मदिरा निषेध गरिएको हो।मेलालाई भव्यता प्रदान गर्न नागरिक समाज, संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, एवं वडा अध्यक्षहरुको उपस्थितिमा २६ गते आ–आफ्नो स्तरबाट जनकपुरवासीहरुले दीपावली मनाउने निर्णय समेत गरेको उपमहानगरकी उपप्रमुख रिता मिश्रले जानकारी दिइन्।

बैठकमा पर्यटकहरुलाई बिजुली बत्ती, खानेपानी तथा शौचालय सहज उपलब्ध गराउनुपर्ने, यातायातलाई उचित शुल्क लिएर गन्तव्यस्थलसम्म पुर्याउन सहयोग गर्ने, होटल व्यवसायीहरुले आ–आफ्नो स्तरबाट थोरै नाफा लिएर भोजनको व्यवस्था गर्ने लगायतको सुझाव दिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए ।