मेचीनगर/ दिनहुँजसो नेपाली युवा–युवती विदेश पलायन भइरहेका बेला झापाको मेचीनगर–१ बाहुनडाँगीकी एक महिला भने विदेशबाट फर्किएर गाईपालनमा सक्रिय बनेकी छन् ।

ओमन र दुबईमा दश वर्ष बिताएर फर्किएकी ३७ वर्षिया लक्ष्मी दङ्गालले ०७३ सालदेखि गाईपालन शुरु गरेकी हुन् । नेपालमा केही काम गर्ने योजनाका साथ फर्किएकी उनले विदेश नजाने निर्णय गर्दै गाईपालनमा लगानी गरेको बताएकी छन् ।

उनका अनुसार शुरुआती अवस्थामा ३० लाख लगानी भएको थियो । तर, अहिले लगानी बढेर ३ करोड हाराहारी पुगिसकेको छ । एक बिघा जमिनमा गाईपालन छ । अन्य २ बिघा जमिन पनि लक्ष्मीले भाडामा लिएर घाँस रोपेकी छन् । उनी भन्छिन्– ‘नेपाल एक कृषि प्रधान देश भएकाले देशमा कृषिको भविष्य उज्ज्वल छ ।’ लक्ष्मी कृषि फर्म नाम दिइएको यो व्यवसायमा हाल ३० वटा जर्र्सी जातका गाई छन् ।

हाल दैनिक २ सय लिटर दूध उत्पादन भइरहेको छ । सवै दूध भारतीय बजारमा निर्यात हुन्छ । ‘नेपालमा दूधको भाउ कम छ’, लक्ष्मीले भनिन्– ‘भारतीय बजारमा राम्रो भाउ छ ।’ उनले आफ्नो फर्ममा ७ जना महिलालाई रोजगारी पनि दिएकी छन् ।

उनका अनुसार नेपाली डेरीले प्रतिलिटर ४५ रुपैयाँ दिन्छ भने त्यही दूधलाई भारतीय बजारले प्रतिलिटर ५५ रुपैयाँसम्म दिने गरेको छ । उनी भन्छिन्– ‘पैसा कमाउन खाडी नै जानु पर्दैन नेपालमा पनि विदेशको भन्दा बढी रकम कमाउन सकिन्छ ।’

घरै बसेर उनले मासिक एक लाख रुपैयाँ आम्दानी गरिरहेकी छन् । लक्ष्मीले हालसम्म सरकारी निकायबाट एकसुको सहयोग लिएकी छैनन् । देखावटी फर्म सञ्चालन गरेर बस्ने र सरकारी अनुदान पाएपछि फर्म  बन्द गर्ने विकृति पनि बढेको उनले आरोप लगाइन् ।

‘महिलाले सञ्चालन गरेको फर्ममा राज्यका निकायको कुनै ध्यानै छैन ।’ उनले गुनासो गरिन् ।