भद्रपुर । ऋण तिर्न भन्दै सिमसार क्षेत्रबाट गिट्टीबालुवा उत्खनन गरी बिक्री गर्दै आइरहेको समितिलाई गाउँपालिकाले रोक लगाएको छ । सिमसारको गिट्टी बालुवा बेचिदैँ भन्ने शिर्षकमा ब्लाष्टखवरमा समाचार आए पछि भेलागढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद लुइटेललगायत केहीलाई हल्दिबारी गाउँपालिकाले तत्काल बोलाएर उत्खननमा रोक लगाएको हो ।
नियम विपरित कार्य गरेकोले प्रहरी मार्फत उत्खननमा रोक लगाइएको गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरीले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २५मा उपभोक्ता समितिले गाउँपालिकासँग समन्वय गर्ने भन्ने उल्लेख भए पनि समितिले नगरेका कारण रोक लगाउनु परेको उपाध्यक्ष गिरीको भनाइ छ । राज्यलाई ठगीखाने काम गर्दै मन परि गर्न नपाइने उनले बताए । एउटा प्रकृयामा जानु पर्ने उनको भनाइ छ ।
गाउँपालिकाबाट जानकारी आउनसाथ तत्काल सिमसार क्षेत्रमा गएर उत्खननमा रोक लगाएको हल्दिबारी प्रहरी चौकीका असइ कुमार खडकाले बताए । सो क्षेत्रमा निगरानी गरिरहेकोले उत्खनन बन्द भएको उनले जानकारी दिए । जानकारी पाएसँगै सिमसार क्षेत्रमा गएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए । पोखरी खन्दा निस्केको सामग्री खन्ने व्यत्तिले नै लाने सहमति भएकोले यस्तो काम गरेको उनीहरुले बताएपछि यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको डिभिजन प्रमुख घिमिरेले बताए ।
झापाको भद्रपुर नगरपालिका र हल्दीबारी गाउँपालिकाको सिमानामा रहेको देउनीया खोलाआसपासमा रहेको सिमसार क्षेत्रबाट भेलागढी सामुदायिक वन समितिका केही व्यत्ति मिलेर सामग्री बिक्री गर्दै आइरहेका थिए ।
साविक हल्दिबारी गाविस ३ हाल सोही गाउँपालिका २ मा रहेको लगभग ६ विघा क्षेत्रमा फैलिएको जग्गाबाट वन समितिले ५ लाख रुपैयामा सम्झौता गरि गिट्टी बालुवा लगायतको सामग्री बिक्री गर्दै आइरहेको थियो । सिमसार क्षेत्रबाट उत्खनन गरिएका सामग्री सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने नियम छ । तर नियमलाइ मिचेर केही व्यक्तिले फाइदा लिइरहेका थिए ।
सिमसारमा खर्च भएको ५ लाख रुपैया हल्दिबारी गाउँपालिकाले नदिएपछि लागेको ऋण तिर्न सामग्री बेच्नु परेको वन उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद लुइटेलको भनाइ छ । ‘नियममा नपाइने हो, तर लागेको खर्च उठाउनलाई मानविय हिसावले यस्तो गरेको उनले बताउदै आएका छन् । गाउँपालिकाले ९ लाखमा डिपिआरसमेत तय पारिसकेको छ । हालसम्म सो स्थानमा तटवन्धनसहित अनुमानित १७ लाखभन्दा बढी खर्च गरिसकेको छ भने चालु आर्थिक वर्षमा ३० लाख रकम गाउँपालिकाले विनियोजित गरेको जनाएको छ ।