विराटनगर /  समाजसेवी तथा उद्योगी दीनाबन्दु गोयलले विराटनगरस्थित पूर्वाञ्चल बाल सेवा आश्रममा रहेका बालवालिका तथा वृद्धाहरूको लागि एक वर्षसम्म पुग्ने खाजाको व्यवस्था गरिदिएका छन् ।
बाल सेवा आश्रममा बुधबार एक कार्यक्रममा बिच आश्रममा रहेका ६५ जना बालवालिका र १५ जना वृद्धाहरू गरि ८० जनाको लागि समाजसेवी गोयलले खाजाको व्यवस्था गरिदिएका हुन् ।
आश्रमका बालवालिका र वृद्धालाई पुग्ने ४ बोरा भुजा, ४ बोरा चिउरा खाजाको सहयोग गरे । उनले आश्रमका अध्यक्ष सीता पोखरेललाई उक्त सामाग्री हस्तानतरण गरेका थिए । अहिले एक महिनाको लागि खाजा सहयोग गरेपछि समाजसेवी गोयलले एक वर्षसम्म पुग्ने खाजाको व्यवस्था गरिने बताएका छन् । उनले एक वर्षसम्मको लागि ४८ बोरा भुजा र ४८ बोरा चिउँरा सहयोग गर्ने छन् । सहयोग कार्यक्रममा बोल्दै समाजसेवी गोयलले यहाँ रहेका साना बालवालिकाहरूको उज्जवल भविष्य बनाउन खाजा खर्च सहयोग गरेको बताए । उनले आश्रममा रहेका बालवालिका र वृद्धाहरू आफ्नो परिवार ठानेर सहयोग गरेको बताए ।