बिर्तामोड /  यतिबेला बिर्तामोडमा रहेको डोमालाल रंगशाला चिटिक्क पारिएको छ । रंगशालाको घाँस काट्नेदेखि, पानी हाल्ने, घेराबार गर्ने लगायतको काम सम्पन्न भएको छ ।  बिगतका बर्षहरुमा रंगशालमा फुटबल प्रतियोगिता हुँदा मात्र श्रृङगारको काम हुँदै आएकोमा यो पटक भने दुई घण्टाको कार्यक्रमका लागि लाखौं रुपैयाँ खर्च गरिदैछ । मंसिर ४ गते नेपथ्य ब्याण्डको विशेष प्रस्तुतिका लागि उक्त रंगशालालाई झकिझकाउ बनाइएको हो ।

दिनहुँ जसो हुने सवारी साधन दुर्घटनालाई निरुत्साहित गर्न प्रचारात्मक अभियानका लागि उक्त दिन नेपथ्य ब्याण्डलाई बोलाइएको हो । साँझ हुने चेतनामूलक सांगीतिक प्रस्तुतिका लागि व्यवस्थापनको काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका इन्स्पेक्टर राजेश राईले बताए ।

सवारी दुर्घटना न्युनिकरणका लागि बिर्तामोडको सहारा नेपालले लगभग पाँच करोड रुपैयाँ संकलन गर्नका लागि पहिलो चरणमा चर्चित ब्याण्ड नेपथ्यको उपस्थितीमा कन्सर्ट आयोजना गरेको हो । उक्त कार्यक्रम पछि प्रदेश नम्बर १ मा दुर्घटना न्यूनिकरण महाअभियान चल्नेछ । सडक दुर्घटना न्यूनिकरण महाअभियान प्रदेश नम्बर एकका मुख्य शहरहरुमा सञ्चालन हुने बताइएको छ ।

साहारा नेपालसहित १० भन्दा बढी संघसंस्थाले प्रदेश सरकार र ट्राफिक प्रहरीसँग समन्वय गरेर दुर्घटना न्यूनिकरणका लागि महाअभियान मार्फत नेपथ्यको सांगीतिक कार्यक्रम गरिने महाअभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए । कार्यक्रमबाट संकलित रकम सडक दुर्घटना न्यूनिकरण महाअभियानमा खर्च गरिने आयोजकले जनाएको छ ।

महाअभियानको दोस्रो चरणमा चैत्र मसान्तसम्ममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर, १० वटा ¥याडर गन र तीनवटा जेब्राक्रस मार्किङ मेसिन प्रदान गर्ने संयोजक गिरीले जानकारी दिए ।

तेस्रो चरणमा आगामी बैशाख महिनादेखि ट्राफिक नियमको बृहत रुपमा सचेतना कार्यक्रम आयोजना गर्ने बताइएको छ । नियम बिपरित राखिएका होडिङ बोर्ड हटाउने, वाताबरणमैत्री पर्चा पम्प्लेट वितरण गर्ने, सञ्चारमाध्यमबाट सचेतनामुलक कार्यक्रम प्रकाशन प्रशारण गर्ने तथा कार्यक्रमको समिक्षा गरेर त्यसपछिका ढाँचामा फेरबदल गर्ने योजना रहेको संयोजक गिरीले बताए ।

कार्यक्रमको चौथो चरणमा बिर्तामोड सहित प्रदेशका मुख्य शहरहरु दमक, बिराटनगर, ईटहरी, धरान लगायतमा ट्राफिक लाईट जडान गरिने उनले बताए । ट्राफिक लाईट जडान गर्न ३ करोड ६० लाख, नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुतिका लागि ५० लाख ट्राफिक नियम सचेतनाका लागि २० लाख, ट्राफिक प्रहरी कार्यालयलाई उपकरण हस्तान्तरण ७० लाख गरि जम्मा ५ करोड रुपैयाँ लागतका अभियान सञ्चानल गरिने गिरीले जानकारी दिए ।