सञ्चारकर्मी भीषण राई चलचित्र निर्देशकको रूपमा आउँदैछन् । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ बाट उनले नेपाली चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यस अघि उनले आधा दर्जन नेपाली चलचित्रमा सह–निर्देशन गरेका थिए । उनले ‘पहिचान’ नामक वृत्तचित्र, ‘हामी डिजे’ नामक पुस्तक लेखनका साथै नेपालमा पहिलो पटक ‘वाइफाइ लभ’ नामक सचित्र उपन्यास पनि ल्याएका छन् । उनले निर्देशन गरेको चलचित्र ‘पुरानो बुलेट’को सम्पूर्ण छायाङ्कन सकिएर अहिले सम्पादनको क्रममा छ । यही सेरोफेरोमा रहेर उनीसँग ब्लाष्टले गरेको कुराकानीः
 
पत्रकारिताबाट किन चलचित्र निर्देशनमा लाग्नुभयो ? 
– मैले पत्रकारितालाई छाडेको छैन । मुख्यतः चलचित्र पनि पत्रकारिताको एउटा पाटो हो । जसमा श्रव्यदृश्यमार्फत् समाजलाई बुझाउन सजिलो हुने भएकाले निर्देशनमा लागेको हुँ ।
‘पुरानो बुलेट’ चलचित्र कस्तो चलचित्र हो ?
– गाउँमा थोत्रो बुलेट चढेर शान दिएर मोजमस्तीमा हिड्ने युवाको पारिवारिक प्रेमकथा हो । अन्ततः राष्ट्रवादी बन्छ । जसले वर्तमान देशका सम्पूर्ण युवापुस्ताको मनोभाव प्रतिनिधित्वगर्दछ ।
अहिले नेपाली चलचित्र बजार कस्तो पाउनु भएको छ ? 
– पहिलेको भन्दा राम्रो छ । यसको दायरा फराकिलो बन्दै गएको छ । दर्शक सचेत छन् । बुझेरमात्र चलचित्र हेर्न हलसम्म जान्छन् । पहिलेको जस्तो अवस्था छैन ।
नेपाली चलचित्रमा लगानीको आकर्षण कस्तो छ ? 
– पहिले चलचित्र निर्माण गर्नु बालुवामा पानी खन्याउनु सरह हुन्थ्यो भने अहिले त्यो अवस्था छैन । राम्रो चलचित्र बनेको अवस्थामा स्वदेशमा भन्दा विदेशमा यसको ‘डिमान्ड’ छ । बजार सानो भएकाले करोड बढी लगानी असुरक्षित हुन्छ । यदि राम्रो निर्देशक र कथावस्तु भएमा लगानी गर्न आतिनुपर्ने अवस्था छैन ।
चलचित्र ‘पुरानो बुलेट’लाई नेपाली दर्शकले कहिले हेर्न पाउ“छन् ?
– अहिले धमाधम सम्पादनको काम भइरहेको छ । चैत दोस्रो हप्ताबाट चलचित्र ‘अल–नेपाल रिलिज’ हुँदैछ । यस अघि हङकङलगायत अन्य मुलुकमा यसको शो हुँदैछ ।
आगामी प्रोजेक्टहरू के छन् ?
– अहिले पत्रकारितासँगै चलचित्र निर्देशनमा लागिरहेको छु । चलचित्र निर्माणकै क्रममा केही नयाँ प्रोजेक्टहरू छन् । त्यस्ता ड्रिम प्रोजेक्टहरूमा नेपाली चलचित्रका क्षेत्रमा नयाँ प्रयोगहरू गर्ने इच्छा छ । स्वैरकल्पनामा आधारित, आदिम सभ्यताका विषयवस्तु उठान भएका चलचित्र निर्देशन गर्ने योजनामा छु ।