तेह्रथुम । लालीगुराँस नगरपालिका–१ वसन्तपुरमा रहेको जालपादेवी आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्नका लागि स्थानीय अभिभावकले अक्षयकोष स्थापना गरेका छन् । विद्यालयको शैक्षिक अवस्था सुधारका लागि अभिभावकले अङ्ग्रेजी माध्यमको कक्षा सञ्चालनको लागि भन्दै करिब १२ लाख बढीको अक्षयकोष स्थापना गर्ने निर्णय गरि रकम सङ्कलन गरिरहेका छन् । विद्यालयका लागि अभिभावकले १२ लाख रुपैयाँ बढी रकम जम्मा गर्ने घोषणा गरेको विद्यालयका प्रधानाध्यापक सरिता खड्काले जानकारी दिइन । ‘स्थानीय अभिभावकले अक्षय कोषका लागि ५० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म रकम दिएका छन्  ।’ प्रअ खड्काले भनिन् । अक्षयकोषका लागि सबैभन्दा बढी साविक वसन्तपुर–१ घर भई हाल इटहरी बस्दै आएका रामबहादुर खड्काले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । यसैगरी अक्षय कोषका लागि स्थानीय ३ दाजुभाई रामबहादुर खड्का, कुलबहादुर खड्का र पदम बहादुर खड्काले एक मुष्ठ ७५ हजार रुपैयाँ जम्मा गरिदिएका छन् । अहिलेसम्म ९ लाख रुपैयाँ जम्मा भइसकेको जानकारी गराउँदै सहयोग गरिदिन पनि प्रअ खड्काले अनुरोध गरेकी छन् । विद्यालयलाई देवेन्द्रबहादुर थापाले १ रोपनी, रामबहादुर खड्का र गोपाल पौडेलले आधा–आधा रोपनी जग्गा पनि उपलब्ध गराएका छन् । दातालाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी सम्मान गरिसकेको प्रअ खड्काले बताइन् । यसैबीच विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयका शिक्षक र विद्यार्थीहरूले गत वर्षको तिहारको अवसरमा देउसी खेलेर १ लाख ३३ हजार ६ सय समेत सङ्कलन गरेको छ । तिहारको अवसरमा खेलिएको देउसीबाट सङ्कलित रकमसमेत अक्षय कोषमा जम्मा गरिने विद्यालयका प्रधानाध्यापक सरिता खड्काले बताइन् ।