हिले । धनकुटा नगरपालिका वडा नं.१ हिले स्थित वक्रकुण्ड पञ्चेश्वर महादेव धार्मिक तथा पर्यटन विकास समितिले आयोजना गरेको संस्थाको नवौं वार्षिक उत्सव तथा नागपञ्चमी मेलामा बिहीबार भक्तजनको घुँइचो लागेको छ । हिले बजारको तोङ्गवा चोकदेखि २ किलोमिटर पश्चिममा रहेको वक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरमा हरेक वर्ष नाग पञ्चमीको दिन धुमधामसँग भक्तजनको उपस्थितिमा मेला लाग्ने गर्दछ । यस वर्ष पनि नागपञ्चमी मेलासँगै आयोजक संस्थाले बिहीबार मेलामा उपस्थित भक्तजनको कल्याण, नागहरूको उपासना, सम्पूर्ण धनकुटेलीको स्वस्ती शान्ति र कल्याणको निम्ति व्राह्मण पढाएर होमादी आयोजना गरिएको वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरका व्यवस्थापन समितिका संस्थापक अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङले बताएका छन् । नागपञ्चमी मेलाको उद्घाटन समोराहका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङ र श्री नं.२ बाहिनी अड्डा हिलेका सहायक बाहिनी पति महासेनानी सुनिल घलेले गरेका थिए । नगर प्रमुख तामाङले पञ्चबत्ती बालेर वक्रकुण्ड नागपञ्चमी मेलाको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि तामाङले वक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरलाई धार्मिक पर्यटनको रूपमा प्रवद्र्धन गर्न पूर्वाधार निर्माण गर्न सहयोग गर्ने वचन दिए । सो अवसरमा उनले वक्रकुण्ड मन्दिर र आसपासको क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरिएको बताए । उनले आगामी वर्ष पनि १० लाख रुपैयाँ विनियोजन गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा प्रमुख तामाङले मेलामा सहभागी भक्तजनमा कल्याण र स्वस्ती शान्ती मिलोस् भन्ने शुभकामना दिए । उनले वक्रकुण्डलाई व्यवस्थित गर्न भौतिक, नैतिक सहयोग गर्न तयार रहेको बताए । उनले चालु वर्षदेखि नै भौतिक पूर्वाधार निर्माणका लागि निरन्तरता दिने वचनसहितको प्रतिबद्धता जनाएका थिए । तामाङले आफ्नो पहलमा वक्रकुण्ड महादेव मन्दिरको भौतिक निर्माणमा योगदान गरेर देखाउने प्रतिबद्धता जनाएका थिए । उनले अभियानका कारण हिलेको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुगिरहेको बताए । वक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समिति हिलेका अध्यक्ष सिंह तितुङ तामाङको अध्यक्षतामा सम्पन्न वक्रकुण्ड नागपञ्चमी मेला उद्घाटन समारोहमा समितिका प्रमुख सल्लाहकार लालचन्द्र गोङ्गवा तामाङ, जग्गा दाता गणेशबहादुर घिमिरे, प्रमुख सेनानी क्षेत्रबहादुर मल्ल, सेनानी बलबहादुर थापा, हिले बजार व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तितुङ तामाङ, हिले चौकीका इन्चार्ज यदु खड्का लगायतले वक्रकुण्ड पञ्चेश्र महादेवको मन्दिरलाई व्यवस्थित गरिनु पर्ने धारणा राखेका थिए । उनीहरूले वक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरलाई पूर्वको धार्मिक पर्यटनको केन्द्र बनाउनु पर्नेमा जोड दिएका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र मन्दिर व्यावस्थापन समितिका प्रमुख सल्लाहकार लालचन्द्र गोङ्गवा तामाङले संयुक्त रूपमा मन्दिरका पुजारी दानबहादुर घिसिङ तामाङलाई सम्मान–पत्र प्रदान गरे । घिसिङ उमेरले पाका भएकाले उनको सट्टा जितबहादुर बम्जन तामाङलाई मन्दिरमा नयाँ पुजारी राखिएको पनि सल्लाहकार गोङ्गवाले जानकारी दिए । कार्यक्रमको सञ्चालन समितिका सचिव दीपक घिमिरेले गरेका थिए । स्वागत मन्तव्य संस्थाका तर्फबाट सल्लाहकार लालचन्द्र गोङ्गवा तामाङले राखेका थिए । सो अवसर राधाकृष्ण भजन कृतन समूह, कृष्ण जागृति महिला समूह, शिवनारयण कृतन समूह, निगाले लक्ष्मी नारायण भजन कृतन समूह, जनकल्याण प्रतिष्ठान, मधुगङ्गा भजन समूह, सिङ्गेश्वरी कृतन मण्डलीलगायत भजन, कृतन गरेका थिए ।
 
                     
         
        






























