पानवार। विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याएको तस्बिर धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघको ब्यानरमा सगरमाथा आरोहण गरेका महिला पत्रकारको टोलीले सगरमाथाको चुचुरोमा पुर्याएको धरानको तस्बिर बुधबार धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।
धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी र प्रमुख प्रशासकिय अधिकृत सुमन घिमिरेले सगरमाथा आरोही टोलीलाई खादा ओढाएर स्वागत गर्दै मायाको चिनो समेत प्रदान गरेका थिए । धरान–१६ कि देउराली चाम्लिङ लगायत काठमाडौ निवासी रोजीता बुद्धाचार्य र प्रियालक्ष्मी कार्की, विराटचोक मोरङ निवासी रोसा बस्नेतले सगरमाथाको सफल आरोहण गरेका थिए ।
सगरमाथा आरोही देउराली चाम्लिङले धरानको पर्यटन प्रबद्र्धनका निम्ति धरानको तस्बिर सगरमाथाको चुचुरोमा पुर्याएको बताइन् । उनले धरान देशकै सुन्दर सहर भएकोले पर्यटकहरु धरान घुम्न लालायीत हुने भन्दै त्यसको लागी प्रबद्र्धन आवश्यक रहेको बताइन् ।