धनकुटा/जिल्ला सदरमुकाम धनकुटा बजारलाई स्मार्ट सिटी (स्फुर्त शहर) बनाउनेबारे मंगलबार सरोकारवालाहरुसँग अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ ।  स्मार्ट सिटी (स्फुर्त शहर) बारे थालिएको पहिलो चरणको अध्ययनबारे सर्वपक्षिय अभिमुखिकरण कार्यशाला आयोजना गरिएको हो । शहरी विकासको दिगोपन, मापन योग्य, पहुँच, अनुशरण योग्य तथा प्रविधि मैत्री लगायतका सूचकका आधारमा स्मार्ट सिटी निर्माण गरिने शहरी योजनाविद् इन्जिनियर रविन्द्र दवाडीले जानकारी दिएका छन् । तीन चरणको गुरु योजना तयार पार्ने तयारी गरिएको स्मार्ट सिटी धनकुटा अध्ययन प्रतिवेदन समुहका टोली नेता समेत रहेका दवाडीले बताए । उनका अनुसार ५ वर्षे अल्पकालिन, १० वर्षे मध्यकालिन र १५ वर्षिय दीर्घकालिन गुरु योजना बनाइने छ ।

सो अवसरमा स्मार्ट सिटीको सवल, दुर्बल पक्ष, अवसरहरु र चुनौतीहरुको बारेमा सहजीकरण गरिएको थियो । साथै, स्मार्ट शहरका आधारभूत विश्लेषण गर्ने क्रममा स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट पुर्वाधार र स्मार्ट अर्थ व्यवस्था हुनु पर्नेमा सहजीकरणमा जोड दिइएको थियो । साथै, स्मार्ट सिटी भित्रका ५ पिलरका बारेमा पनि सहजकिरण गरिएको थियो ।सो अवसरमा स्मार्ट सिटीमा मुख्य पुर्वाधारहरुको माध्यामबाट धनकुटा नगरबासीहरुको जीवन स्तर कसरी उकास्न सकिन्छ भन्नेबारे पनि छलफल गरिएको थियो ।  एकिकृत भवन निर्माण मापदण्ड, भुउपयोगनीति, आवास कृषि व्यवसायिक तथा सडक सन्जालको नीति लगायतका विषयवस्तुलाई प्रतिवेदनको आधार मानिने अध्ययन टोलीका सदस्य तथा नँया शहरी आयोजनाका ईन्जिनियर रमिता टचामोले जानकारी दिइन् । स्मार्ट सिटी बनाउन उत्साहित बनेकी धनकुटा नगरपालिकाकी कार्यवाहक प्रमुख शकुन्तला बस्नेतले बताइन् । कार्यवाहक नगर प्रमुख शकु्नतला बस्नेतको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण गोष्ठीमा वडा नं.१ देखी १० नम्वर वडासम्मका जनप्रतिनिधिहरु, नगरबासीहरु, सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरु र स्थानिय सञ्चारकर्मी लगायतको सहभागिता थियो ।