बेलबारी/लागूऔषध दुर्व्यसनीको अखडाको रूपमा धरानको नाम अग्रपंक्तिमा थियो । तर अहिले मोरङको बेलबारी र सुन्दरहरैंचाको पनि नाम जाेडिन थालेको छ ।  लागूऔषधको ओसार–पसार र बिक्रीको केन्द्र भएकै कारण बेलबारी र सुन्दरहरैंचाबाट गत वर्षमात्र ४५ जना लागूऔषधको कारोबार तथा प्रयोग गरेको अभियोगमा पक्राउ परेका छन् । जसमा तीन जना महिला रहेका छन् । लागूऔषधको सेवनकर्ता महिला लालभित्तीकी हुन् । पक्राउ परेकामाथि मुद्दा चलाइएको छ भने कतिपय अभियुक्तहरू धरौटीमा रिहा भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । प्रहरीले एक वर्षभित्रमा ठूलो परिमाणको लागूऔषध पनि उनीहरुबाट बरामद गरेको छ । लागूऔषध प्रयोगकर्ताहरूबाट ब्राउन सुगर, नाइट्रोजन, लुपिजेसिक, डाइजेलाव, फेनारगन र एभिलनामक लागूऔषधहरू बरामद गरिएको प्रहरीले जनाएको छ । साथै प्रयोगकर्ताहरूबाट गाँजा पनि तीस किलोभन्दा बढी बरामद भएको छ । लागूऔषधको कारोबारमा पक्राउ पर्ने अधिकांशहरू प्रयोगकर्ता र आपूर्ति गर्नेहरू रहेका छन् । बेलबारी र सुन्दरहरैंचा आसपास क्षेत्रमा हुने लागूऔषधको कारोबारले भयानक रूप लिनेमा स्थानीय नागरिकहरू चिन्तित छन् । लागूऔषध प्रयोगकर्ताका अभिभावकहरू यस घटनाबाट सबैभन्दा पीडित बनेका छन् । पछिल्लो समयमा मोरङको बेलबारी र सुन्दरहरैंचामा यसको प्रयोगकर्ताहरू बढेपछि इलाका प्रहरी कार्यालय बेलबारीले ‘स्वीफ्ट’ अभियान चलाएको छ । इप्रका बेलबारीमा हालै सरुवा भएर आएका इन्स्पेक्टर रामकुमार राईले पहिलो अभियान लागूऔषध दुव्र्यसनी न्यूनीकरणका लागि अभियान सञ्चालन गरेका हुन् । बेलबारीमा स्थानीय अभिभावकको गुनासो सुनेपछि बेलबारी र सुन्दरहरैंचामा स्वीफ्ट अभियान चालिएको इन्स्पेक्टर राईले बताए । प्रहरीले बेलबारी र सुन्दरहरैंचाको मुख्य पोइन्टबाट तीन दिनमा ४३ जना लागूऔषध प्रयोगकर्ताहरू पक्राउ परेका छन् । कसेनीको धनपालगढी र हसिना सिमसारलगायत विभिन्न ठाउँबाट उनीहरू पक्राउ परेको प्रहरीले बताएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय परिसरमा लागूऔषधसम्बन्धी सचेतना कार्यक्रममार्फत् सामाजिक जीवन जिउन उत्प्रेरणा जगाउने र सुमार्गमा हिँड्न हौसला दिई अभिभावकसमक्ष जिम्मा लगाएको इन्स्पेक्टर राईले बताए ।