काँकरभिट्टा । नेपालको पूर्वी नाकाबाट मानव खप्पर तस्कर गर्ने गिरोह सकृय रहेका छ । तर,मानव खप्पर तस्कर गर्ने गिरोहलाई के कारवाही गर्ने भन्ने बिषयमा नेपालमा कानुन नभएका कारण यसका तस्करहरूले मुक्ति पाईरहेका छन् ।
मानव खप्पर भन्ने शब्द जति गहन छ तर,यस बिषयमा कानुनमा दोसीलाई ठुलो कारवाही हुने भेटिन्न । त्यसकारण प्रहरीले बरामत गरेका मानव खप्पर तस्करहरूलाई सार्वजनिक मुद्धा चलाउने देखि बाहेक अरु केही गर्न सकेको छैन् ।
नेपालको पूर्वी नाकाबाट २०७४ सालमा दुई जना मानव खप्पर सहित पक्र्राउ परे । उनीहरूलाई बिभिन्न समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको थियो । २०७४ साल बैशाख १८ गते भारत दार्जिलिङ खोरीबारी थाना पानीट्याङकी बस्ने ६६ बर्षका भोगीरथ ंिसह यस नाकाबाट १५ वटा मानव खप्पर सहित पक्राउ परेका थिए ।
त्यस्तै २०७४ साल भदौ २० यसै नाकाबाट काभ्रेपलाञ्चोक मण्डलदेपुर न पा वडा न ८ बस्ने ५२ बर्षका सोमे तामाङ २२ थान मानव खप्पर सहित पक्राउ परेका थिए । यी दुबै जनालाई सार्वजनिक अपराध सम्बन्धी मुद्धा चलाइएको थियो ।
भारतबाट नेपालमा खप्पर भित्रिन्छ । यो केका लागि प्रयोग गरिन्छ भन्ने विषयमा खोजको बिषय हो । काँकडभिट्टा इलाका प्रहरी कार्यालयका डिएसपी टंक प्रसाद भट्टराई बिभिन्न समयमा यस बिषयमा हामीले अभियुतm समातेर मुद्धा चलाएको बताउछन् ।
खप्परहरू भारतबाट नेपाल तर्फ ल्याइएकाले घटनाको गहिरो अनुसन्धान शुरु गरिएको डिएसपी भट्टराई बताए । यो घटनाले अपराध नियन्त्रणका लागि नयाँ चुनौती थपेको उनी बताउछन् ।
यस्ता घटनाको बास्तबिकता पत्ता लाउन दुबै देशले संयुक्त अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यो घटनाले मानव अङ्गका तस्करहरू सक्रिय छन् भन्ने कुरालाई प्रमाणित गरेको छ ।
केमा प्रयोग हुन्छ मानव खप्पर ?
मानव खप्परको प्रयोग केमा हुन्छ भनेर वैज्ञानिक रूपमा पुष्टि भएको पाइँदैन । यद्यपि यसलाई विश्वव्यापी रूपमा जघन्य अपराधको रूपमा मानिएको छ । नेपालमा पनि यसअघि मानव खप्परहरूको किनबेच हुने गरेको घटना सार्वजनिक हुने गरेका थिए ।
केही समय अघि सिआईबीको अनुसन्धानबाट तान्त्रिकहरूले मानव खप्परबाट धन प्राप्त गर्न सकिने भ्रम छरेर महङ्गो मूल्यमा बिक्री गर्ने गरेको रहस्य खुलेको थियो । भने यी बस्तु बौद्ध धर्म गुरुहरूले आफ्नो पिय पदार्थ पिउनका लागि भाडाको रूपमा प्रयोग गर्ने समेत बताईन्छ । यसलाई राजधानी लगेर नँया स्वरूप दिएर सजावटका लागि समेत प्रयोगमा ल्याउने गरेको जानकारहरू बताउछन् ।
कारवाही गर्ने कानुनको अभाव
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी टंकप्रसाद भट्टराई मानव खप्परको तस्करी गर्नेलाई के मुद्दा चलाउने भनेर स्पष्ट कानुन नभएको बताए । ‘पक्राउ परेका व्यक्तिलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा लगाएर हामीले थप कानुनी परामर्श लिइरहेका छौं’, डिएसपी भट्टराईले भने, ‘मानव खप्पर तस्करी तथा बेचबिखन सम्बन्धी कानुनको आवश्यकता परेको छ ।’
उता महान्याधिवक्ताको कार्यालय काठमाडौका सूचना अधिकारी तथा उपन्यायाधिवक्ता चन्द्रकान्त खनालले यो जघन्य बिषय भएको हुँदा यस बिषयमा यस अघि कानुनले समेट्न नसेकेको भए यही भदौबाट लागु हुने मुलुकी अपराध सहिंता सम्बन्धी बन्ने ऐनमा यी सम्बन्धी बिषयहरू समेटिने बताए ।
मानवको खप्पर यसरी तस्कर हुँदा समेत कानुन फितलो हुँदा यसका तस्करहरू मौलाईरहेका छन् ।