नेपालगञ्‍ज/ पर्साकी १८ वर्षकी किशोरी पाँच वर्षअघि भारतको कोठी ९वेश्यालय० मा बेचिन पुगिन्। १३ वर्षको उमेरमा गाउँले दिदी र साथीले उनलाई कोठीमा पुर्‍याए। दिल्लीको जीवीरोडस्थित ६४ नम्बर कोठीमा रहेकी ती किशोरीले गतवर्ष छोरी जन्माइन्। कोठीमा आउने ग्राहकबाट उनको गर्भ रहन गयो। कोठीमै उनले छोरी जन्माइन्। छोरीलाई छेउमा राखेर उनले ग्राहकलाई सन्तुष्टि गराइरहिन्।

[caption id="attachment_65600" align="aligncenter" width="900"] सांकेतिक तस्बिर[/caption]

ग्राहकलाई सन्तुष्टि गराउनु उनको बाध्यता थियो। नुवाकोटकी १७ वर्षकी किशोरी पनि गाउँले दिदीको आश्वासनमा परेर ६४ नम्बर कोठीमा पुगिन्। डेढ वर्षअघि किशोरी त्यहाँ पुगेकी थिइन्।माइती नेपाल, नेपालगञ्जले दिल्लीको चर्चित ६४ नम्बर कोठीमा छापा मार्दा कोठीमा जन्मिएकी बच्चा र आमा तथा नुवाकोटकी किशोरी फेला परेका हुन्। तीनै जनाको उद्धार भएको छ।

माइती नेपाल, नेपालगञ्जका प्रमुख केशव कोइराला र बर्दियाकी प्रमुख गायत्री नेपाल कोठीमा छापा मार्न दिल्ली पुगेका थिए। उच्च स्तरको प्रहरी टोली लिएर कोठीमा पुग्दा भागभाग भएको कोइरालाले बताए। नुवाकोटकी किशोरीलाई उद्धार टोली र कोठीका मान्छेले दुईतिर तानातान गरेका थिए। ‘एकातिरबाट माइती नेपालकी गायत्री र अर्कोतिर कोठीका मान्छेले तानातान गरेका थिए, त्यसक्रममा गायत्रीको हातमा चोट लागेको छ,’ कोइरालाले भने। ६४ नम्बर कोठीमा अरु सात जना नेपाली नाबालिका रहेको पत्ता लगाएपछि टोली त्यहाँ पुगेको थियो। सूचना चुहिएर अरुलाई तत्काल भगाइएको थियो। बच्चाकी आमाका अनुसार, गर्भवती र मिन्स हुँदा पनि धन्दा गरिरहनु पर्थ्यो। सुत्केरी अवस्थामा पनि उनले धेरै दिन आराम गर्न पाइनन्। पोषण तत्वको अभावमा आमा र छोरी दुवै ख्याउटे रहेको कोइरालाले बताए।

१३ को उद्धार माइती नेपालले सन् २०१८ मा १३ जना नेपाली चेलीको उद्धार गरेको छ। आग्राको काश्मिरी बजार, मेरठको कवाडी बजार, दिल्लीको जीवीरोडको कोठी तथा देहरादुनको केदारपुर र दिल्लीको सनिपथको घरबाट नेपाली चेलीको उद्धार गरिएको हो। कवाडीपुर, काश्मिरी बजार, जीवीरोडका ५६, ५७, ६४ र ७० नम्बरका कोठीमा अधिकांश नेपाली चेली रहेको माइती नेपालले रेकी गर्दा देखिएको छ।

स्थानीय थानालाई खबर नगरी त्यस क्षेत्र हेर्ने उच्च स्तरको प्रहरी कार्यालयबाट टोली लिएर माइती नेपालले छापा मार्ने गरेको छ। ‘विशेष गरेर हामीले नाबालिकालाई फोकस गरेका छौं। त्यो कुरा कोठी सञ्चालकहरुले पनि थाहा पाएका छन्, हामी पुग्दा नाबालिकालाई लुकाउने र उमेर पुगेकाहरुलाई प्रतिकार गराउनेसम्म भएका छन्, कोइरालाले भने, ४८र५० वर्षका भारतीय महिलाहरु आएर हामीलाई फोटोसम्म खिच्‍न दिदैनन्।’ वैशाख ४ गते जीवीरोडमा छापा मारेर नेपालगञ्ज आइपुगेका कोइरालाले प्रहरीकै अगाडि कोठी सञ्चालकहरु नेपाली नाबालिकालाई तानातान गर्न आएको बताए।

माइती नेपाल, नेपालगञ्जमा गतवर्ष ८ सय ३४ जना चेली घरपरिवारको सम्पर्कमा नरहेकाले खोजतलास गरिदिन निवेदन परेको थियो। त्यही निवेदनहरुको आधारमा खोजी गर्दै जादा चेलीहरु कोठीमा भेटिएको कोइरालाले बताए। ‘जीवीरोडका विभिन्न कोठहरुमा एक हजार नेपाली चेली होलान्, हामीले रेकी गरेर सावधानीपूर्वक कोठीमा पुग्दा पनि कहि न कहीबाट सूचना चुहिएर भगाउने काम भइरहेको छ, कोइरालाले भने। कोइरालाका अनुसार, खोजतलासका लागि आउने निवेदनको संख्या वर्षेनी बढ्दै गएको छ। प्रेम गरेर, राम्रो काम लगाइदिने बहानामा नेपाली चेलीलाई कोठीमा पुर्‍याउने काम भइरहेको छ।

राज्यको संयन्त्र छैन भारतमा यौन शोषण तथा जोखिममा परेका नेपाली चेलीलाई उद्धार गर्न नेपालमा सरकारी संयन्त्रको अभाव खट्किएको छ।सरकारी संयन्त्र नहुँदा गैससहरुले जोखिम मोलेर उद्धार गरिरहेका छन्। नेपाली चेलीहरु यी कोठीमा छन् भनेर विश्वस्त सूचना दिइएपनि उद्धार गर्न सकिने अवस्था छैन। माइती नेपाल, नेपालगञ्जका संयोजक कोइराला भन्छन्, सरकारी उद्धार संयन्त्र नहुँदा हामीलाई पनि काम गर्न गाह्रो भइरहेको छ।’ उनले सरकारी संयन्त्र भएको भएपनि मिलेर काम गर्न र आफूहरुलाई जोखिम कम हुने बताए। ६४ नम्बर कोठीमा भारतीय प्रहरीकै अगाडि कोठीका मान्छे र उद्धार टोलीका बीचमा चेलीलाई तानातान भएको भोगेका कोइरालाले यसले आफूहरुको सुरक्षामा जोखिम बढाउने बताए।

‘हामीले भन्दा प्रहरीले तानिदिएको भए हुन्थ्यो, प्रहरीले केही नगर्दा उनीहरुको मनोबल बढेको पायौं, कोइरालाले भने। सरकारले जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जिल्ला समिति बनाएको छ।त्यस समितिले भारतमा गएर त्यसरी छापा मारेर उद्धार गर्दैन। भारतीय संघ संस्थाहरुले उद्धार गरेर सेल्टरहरुमा राखेका नेपालीलाई ल्याउनेसम्म काम गरिरहेको छ।