रियल प्रेम जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको प्रमुख भूमिका रहने फिल्म ‘चङ्गा चेट’ को छायांकन सुरु भएको छ । मंगलवार बिहान चावहिलको गणेस्थान मन्दिरमा पूजाआजा गर्दै औपचारिक रुपमा फिल्मको क्यामेरा ‘अन’ गरियो ।
२५ लाख पारिश्रमिकमा अनुवन्धित भएका निर्देशक दीपेन्द्र के. खनाल यो फिल्मका निर्देशक हुन् । काठमाडौं, धरान, जनकपुर लगयातका ठाउँमा खिचिने ‘चङ्गा चेट’ को निर्मातामा माधव वाग्ले छन् ।
मुहूर्तमा समारोहमा प्रियंका र आयुष्मान सँगै सुरक्षा पन्त, माउत्से गुरुङ, रविन्द्र झा, सन्दिप क्षेत्रीलगायतका कलाकार उपस्थित थिए ।
डार्क कमेडी जनरामा निर्माण हुन लागेको फिल्मको सुटिङ करीब एक महिना चल्ने निर्देशक खनालले जानकारी दिए । उनले भने, ‘दर्शकलाई फरक ‘टेस्ट’ दिने प्रयासका साथ काम थालेका छौं । मेहनत गर्न कञ्जुस गर्ने छैनौं । विश्वास छ हामीले चाहेको जस्तै फिल्म तयार हुनेछ ।’
‘चङ्गा चेट’ मा अर्पण थापा, ऋचा शर्मा, परमिता आर.एल. राना, आसिफ शाह लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यसमा आयुष्मानको जोडी प्रियंकासँग बाँधिएको छ ।
निरक कँडेलले खिच्ने फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । उक्त फिल्ममा अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत छ ।