माघ २६ गतेबाट रिलिज भएको चलचित्र ‘कृ’ले नेपालमा सोचेजस्तो व्यापार नगरे पनि निर्मातालाई भने सुरक्षित राख्यो । निर्माता सुवास गिरीले यो चलचित्रले लगानी उठाएको बताएका थिए । नायक अनमोल केसी पनि यो चलचित्रबाट सन्तुष्ट छन् । जसले गर्दा, सुवास र अनमोल दुवै चलचित्रको सिक्वेल गर्न उत्साहित देखिएका छन् ।

अनमोल अहिले होम प्रोडक्सनको चलचित्र ‘क्याप्टेन’मा व्यस्त छन् । यो चलचित्र भदौ ८ गते रिलिज गर्ने टार्गेटसहित यसको निर्माणपक्ष छायांकनको तयारीमा छ । भूवन केसीले निर्माण गर्ने चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् ।

अनमोल चलचित्र ‘क्याप्टेन’को तयारीमा रहँदै गर्दा उनले चलचित्र ‘कृ २’मा काम गर्ने चर्चा सुरु भएको छ । निर्माता सुवास गिरीले ‘कृ २’ बनाउने पुष्टी गर्दै यसमा नायक अनमोल केसीले नै काम गर्ने बताए । निर्देशक र नायिकाबारे भने उनले केही बताएनन् ।

सुवासले भने-‘हो, म ‘कृ २’ बनाउने तयारीमा छु । चलचित्र ‘भैरवी’पछि ‘कृ २’ छायांकनमा जानेछ । जसमा, नायक अनमोल केसी नै मुख्य भूमिकामा हुनेछन् ।’ सुवासका अनुसार उनी र अनमोलविच मौखिक सहमति भैसकेको छ ।

आखिर, के निर्माता गिरीले भनेजस्तै अनमोल ‘कृ २’का लागि तयार छन् त ? यस बिषयमा कुरा गर्दै अनमोलले भने-‘हो, सुवास दाई र मविच ‘कृ २’को बिषयमा कुरा भएको छ । म यो चलचित्र गर्न सकारात्मक छु । चलचित्रको कथा तयार भएपछि कागजी संझौता पनि गर्ने बताएको छु ।’

अनमोलले ‘कृ २’का लागि आफू उत्साहित भएको बताए । चलचित्रको अहिले कथा लेख्ने काम भैरहेको छ । ‘कृ’बाट आफ्नो शरीर, अभिनयमा परिवर्तन ल्याएका अनमोलले ‘कृ २’मा के परिवर्तन ल्याउनेछन्, उनका फ्यानलाई पक्कै उत्सकुता सुरु भएको छ ।