काठमाडौं/ औपचारिक कार्यक्रमको प्रमुख वक्ता रोबोट हो भन्दा अधिकांशमा कौतुहलता जाग्न सक्छ। तर, रोबोटलाई नै प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरिँदै छ। साउदी अरेबियाले नागरिकता प्रदान गरेको पहिलो रोबोट ‘सोफिया’ ले बुधबार काठमाडौंमा आयोजना हुने कार्यक्रमलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछिन्।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आयोजनामा दरबारमार्गस्थित होटल याक एन्ड यतीमा हुने ‘टेक्‍नोलोजी फर पब्लिक सर्भिसेस-डेभलपमेन्ट’ सम्मेलनमा भाग लिन उनी मंगलबार राति नेपाल आएकी छन्।

सुशासन कायम गरी दिगो विकास लक्ष्य हासिल गर्न प्रविधि र अन्वेषणले कस्तो भूमिका खेल्न सक्छ भन्ने जानकारी गराउन सम्मेलन आयोजना गरिएको यूएनडीपीकी सञ्‍चार अधिकृत ऋचा रञ्जितकारले जानकारी दिइन्।

स्थानीय तहदेखि केन्द्रको विकासमा प्रविधि प्रयोगलाई छलफलको मुख्य एजेन्डा बनाइने यो सम्मेलनमा नगरपालिकाका मेयरसहित प्रदेश, केन्द्रका प्रतिनिधिलगायतको सहभागिता रहनेछ।

हङकङको ह्यान्सन रोबोटिक्स कम्पनीले निर्माण गरेको रोबोट सोफियालाई साउदी अरेबियाले गत वर्षको अक्टोबरमा नागरिकता प्रदान गरेको थियो। त्यसैगरी, नोभेम्बरमा सोफियालाई यूएनडीपीको पहिलो ‘इनोभेसन च्याम्पियन’ को उपाधि दिइएको थियो। राष्ट्रसंघको उपाधि दिएको सोफिया नै पहिलो गैरमानव हुन्।

साढे दुई वर्षको यो रोबोटले मानिसको स्वर र अनुहारलाई पहिचान गर्ने प्रविधि प्रयोग गर्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ मार्फत कार्यक्रममा सहभागी व्यक्तित्वसँग अन्तरसंवाद गर्नेछ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।