उदयपुर/ त्रियुगा नगरपालिका–३ मोतिगडामा सञ्चालन भएको आयुष आयुर्वेद क्लिनिकका सञ्चालक र चिकित्सक पक्राउ परेका छन्। सर्वसाधारणलाई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उजुरीका आधारमा सोमबार बेलुका क्लिनिकमा प्रहरीले छापामारी सञ्चालक बाबुराम कार्की र डाक्टर सुजित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। ‘छापाको क्रममा प्रहरीले डाक्टरको टेबलबाटै चुरोट, कण्डम, विभिन्न शंकास्पद औषधि फेला पारेको छ,’ एसपी भट्टले भने, ‘क्लिनिकसँगैको रेस्टरुममा समेत चुरोटका ठुटा, कण्डम, विभिन्न औषधिका खोल बरामद भएको छ।’
फिस्टुला, पायल्स, हाइड्रोसिलको ग्यारेण्टी उपचार गरिने दावी गर्ने क्लिनिकमा रौतामाई गाउँपालिकाकी एक महिलाले पायल्सको उपचार गराएकी थिइन्। तर, घाउ झन् बढ्दै गएपछि सम्झौताअनुसार पैसा फिर्ता माग्दा उल्टै हप्कीदप्की गरेपछि उनीले प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीका अनुसार क्लिनिकले यथेष्ट सामग्रीविना अप्रेशन गर्ने गर्दै आएको भेटिएको ।
डा. सुजित यादव जेनरल फिजिसियन भनिए पनि उनलको सर्टिफिकेट नक्कली हो कि भन्ने शंका प्रहरीको छ। यादवको कागजात बरामद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भट्टले बताए।