रसुवा/ प्युठानका उदय महत क्षेत्रीको हत्या गरेको अभियोगमा जिल्ला अदालत रसुवाले ५ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ।
हत्या अभियोगमा पक्राउ परेका कपिलवस्तुको शिवराज नगरपालिका ११ घर भई हाल अप्पर त्रिशूली-१ हाइड्रोपावरका ठेकेदार देवराज घर्ती मगर, हेल्पर घर्ती मगर, दीपेन्द्र पुन मगर, कुलमान बुढा मगर र सुशील गिरीलाई शुक्रबार जिल्ला अदालत रसुवाले पुर्पक्षका लागि जेल चलान गरेको हो।
प्युठानको साबिकको बाजिकोट गाविस २ घर भई हाल अपर त्रिशूली-१ हाइड्रोपावरमा कार्यरत ४० वर्षका उदय महत क्षेत्रीको हत्या गरेको अभियोगमा उनीहरुलाई जेल चलान गरिएको प्रहरी नायब उपरिक्षक शरतकुमार थापा क्षेत्रीले बताए।
प्युठान बाजिकोट गाविस २ का मनिष एमसीले जाहेरी दिएसँगै अनुसन्धानका लागि पाँचै जनालाई प्रहरीले माघ १ गते पक्राउ गरेको थियो।
महत क्षेत्रीलाई छारेरोग लागेको र त्यसले सबैमा असर पुयाउने भन्दै पुस २४ गते बिहान जिल्लाको उत्तरगया गाउँपालिका १ गोगनेभीरस्थित कच्ची सडकमा हत्या गरेको अभियुक्तहरुले प्रहरीलाई बयान दिएका छन्। अनुसन्धानको क्रममा पोलिग्राफ मेसिनको समेत प्रयोग गरिएको थियो।
बयानकै आधारमा उनीहरुलाई पुर्पक्षका लागि शुक्रबार कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले बताए।
नेपालीलाइभबाट