चरिकोट/ बुधबार बिहान सदरमुकाम चरिकोटको सातदोबाटोमा रहेको प्रतीक्षालयमा एक हुल विद्यार्थी चिया बेचिरहेका थिए। गाडीको प्रतीक्षा गरिरहेका र घाम ताप्न चोकमा जम्मा भएका पनि चिया पसलमा नगएर प्रतीक्षालयमा विद्यार्थीले दिएको चिया खाइरहेका थिए।
[caption id="attachment_71654" align="alignnone" width="750"]
एकै छिनमा भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले पनि सातदोबाटो चोक आए र चिया पिए। उनले चिया पिएनन् मात्र, सबैलाई पिउन आग्रहसमेत गरे। सदरमुकाम चरिकोटस्थित गौरीशंकर बोर्डिङ स्कुलका पूर्वविद्यार्थी १४ वर्षीय मदन केसीलाई बचाउन विद्यार्थीले चिया बेचिरहेका हुन्। ब्लड क्यान्सरबाट पीडित साथीलाई बचाउने उद्देश्यले चिया बेचेको उनीहरूले बताए। चिया बेचेरै बुधबार मात्र ५७ हजार नौ सय ६५ रुपैया संकलन गरिएको विद्यार्थी आशिष चौलागाईंले जानकारी दिए। साथीलाई परेको दुःखमा सघाउन आफूहरूले विद्यालय छाडेर चोकमा चिया बेच्न लागेको बताउँदै उनीहरूले सबैलाई सहयोगको अनुरोध गरेका छन्।
उपचारका लागि आर्थिक अवस्था कमजोर भएपछि केसीको सहयोगका लागि विद्यार्थीले चिया बेच्न थालेको गौरीशंकर बोर्डिङ स्कुलकी शिक्षिका विन्देश्वरी खतिवडाले जानकारी दिइन्। ब्लड क्यान्सरबाट पीडित विद्यार्थी सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा कक्षा ९ मा अध्ययनरत छन्। उनलाई बचाउन आफूले पहिला पढेको गौरीशंकर बोर्डिङ स्कुलका कक्षा ५, ६ र ७ मा अध्ययनरत विद्यार्थीले अभियान थालेका हुन्। ‘चिया पिउँदै मदन केसी बचाउ अभियान’का लागि नगर प्रमुख केसीले पाँच हजार रुपैयाँ सहयोग गरे। भीमेश्वर नगरपालिकाले पनि संस्थागत रूपमा सहयोग गर्ने उनको प्रतिबद्धता छ।
चरिकोटस्थित गौरीशंकर बोर्डिङ स्कुलका पूर्वविद्यार्थी १४ वर्षीय मदन केसीलाई बचाउन विद्यार्थीले चिया बेचिरहेका हुन्।
‘हामी हाम्रो साथी मदनलाई बचाउन चाहन्छौँ’ अभियानका साथ विद्यार्थीले एक सातासम्म सातदोबाटो चोकमा चिया बेच्ने बताएका छन्। बिहानबेलुका स्वयंसेवक समूह बनाएर विद्यार्थीले चिया बेच्ने योजना बनाएको शिक्षिका खतिवडाले जानकारी दिइन्। चिया पिउनेहरूले बाकसमा आर्थिक सहयोग सहयोग खसाल्ने गरेका छन्। ब्लड क्यान्सरबाट पीडित भीमेश्वर नगरपालिका ५ का मदन केसी अहिले नागरिक अस्पताल काठमाडौँमा उपचाररत छन्। आर्थिक अवस्था कमजोर भएका केसीका परिवारले सहयोगको याचना गरिरहेका छन्।
अन्नपुर्णपाेष्ट