मोरङ/ लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले बुधबार अपरान्ह लागूऔषधसहित एक दम्पतीलाई पक्राउ गरेको छ।

करिब साढे ४ बजेको समयमा बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको एरियाबाट लागूऔषध सहित सुनसरी बराह नगरपालिका ७ बस्ने २५ बर्षिय शम्भु परियार र उनकी श्रीमती धरान उप-महानगरपालिका १९ बस्दै आईरहेकी २२ बर्षिया संगिता परियारलाई पक्राउ गरेको हो।

भारतको जोगवनी बजारबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अबस्थामा लागूऔषध एभिल-२५ एम्पुल, लुपिजेसिक- २४ एम्पुल र फेनारगन ३ एम्पुल फेलापारी बरामद गरेको हो।

पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय रानीमा बुझाईएको ब्यूरो प्रहरीले जनाएको छ।