उदयपुर/ त्रियुगा नगरपालिका ११ स्थित गाईघाट बजारबाट झन्डै एक लाख बराबरको चोरी भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हिमाली टोलमा गएको मंगलबार राति तीन पसलबाट चोरी भएको हो। जिल्ला प्रहरी निमित्त प्रमुख डिएसपी मेघराज अधिकारीका अनुसार कुमार किराना पसलबाट नगद ७४ हजार र पवित्रा मोबाइल सेन्टरबाट ४० हजारको जिन्सी चोरी भएको छ भने सगरमाथा फोटो स्टुडियोको पसल मात्र फोडिएको छ।

‘चोरी योजनाबद्ध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी अधिकारीले भने, ‘चोर पक्राउ गर्नेगरी प्रहरी परिचालन गरेको छु।’ दुई दिनअघि मात्र पनि गाईघाटकैसँग टोलस्थित एक पसलसमेत फोडिएको उजुरीपरेको प्रहरीको भनाइ छ। यता, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले दिनप्रतिदिन चोरी घट्ना बढेको भन्दै प्रहरी प्रशासनसँग कारबाहीको माग गर्दै प्रेस विज्ञप्ति निकालेको छ।

‘व्यापारीका पसलहरु असुरक्षित हुँदै गएका छन,’ त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगवतले भने, ‘चोरलाई तत्काल पक्राउ गरी व्यापारीलाई शान्ति सुरक्षाको आभास दिलाउन माग गरेका छौँ।’