शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ मा बुधबार ५७ लाख बढी रकममा निर्माण हुने सडकको कालोपत्रे गर्ने कार्यको शिलान्यास भएको छ ।

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकालले नगरपालिका कार्यालयको ५० लाख र स्थानीय उपभोक्ताबाट संकलित ७ लाख ५० हजार ९ सय २१ रुपैयाँको लागतमा निर्माण हुने ३ सय ३० मिटरको सडक कालोपत्रे कार्यको शिलान्यास गरेका छन् ।

कार्यक्रममा बोल्दै सांसाद ढकालले आफुले निर्वाचनमा प्रतिवद्धता जारी गरेका विकास निर्माणका काम पुरा गर्न आफु दृढ प्रतिवद्ध रहेको जनाए । उनले ३ नम्बर क्षेत्रमा जनजाती संग्रहालय, सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान, बाहुनीमा पेट्रोलखानीको यथार्थ अन्वेषण तथा उत्खनन्, गोठगाउँको पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापनलाई प्राथमिक योजनामा पार्ने दोहोर्याएका छन् ।

नगर प्रमुख राईले नगरको चौतर्फी विकासमा कार्यालय प्रतिवद्ध रहेको जनाउँदै आगामी वर्ष अझ व्यवस्थित नीति कार्यक्रम ल्याउने वताए ।

बुद्धचोक दक्षिण किर्तिपूर भातेगौंडा सडकखण्डको को सरस्वती टोलमा साढे ५ मिटर चौडाईको ड्रेन सहितको कालोपत्रे सडक निर्माण हुने उपभोक्ता समिति अध्यक्ष इन्द्रकुमार राईले जनाए ।