परासी/ पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई ज्यान मार्ने धम्की आएको छ । पाँच दिनदेखि अज्ञात नम्बरबाट लगातार फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको गुप्ताले बताए ।

बारम्बार धम्की आउने फोनको नम्बर देखिँदैन । फोन आउँदा नम्बरको ठाउँमा प्राईभेट लेखिएको अक्षर मात्र आउने गरेको गुप्ताको भनाइ छ । अध्यक्ष भएपछि अरुलाई नटेरी मनोमानी काम गरेको आरोप लगाउँदै गोली हानेर मार्ने धम्की दिइने गरेको गुप्ताले बताए ।

‘तँ बच्ने बेलासम्म मात्र हिँड । जुनसुकै बेला पनि गोली हान्न सक्छु भनेर फोन आउने गर्छ’, अध्यक्ष गुप्ताले भने,‘ त्यसपछि म मानसिक तनावमा छु ।’ धम्कीबारे सुरक्षा निकायमा जानकारी गराए पनि अहिलेसम्म कसैको पहिचान हुन नसकेको गुप्ताले बताए ।

गाउँपालिकाको कार्यक्रममा हिँड्दासमेत त्रसित भएर हिँड्नु परेको उनले गुनासो गरे । साँझको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएको समेत उनले बताए । ‘पैसाको लागि धम्की दिएको हुन सक्ने ठानेर सोध्दा तैँले आजकल मान्छेलाई गन्न छाडेको छस् त्यही भएर गोली हानेर मार्छुु भन्दै धम्की दिने गरेको उनले बताए ।

राजनीतिक प्रतिशोधका कारण धम्की आएको हुन सक्ने उनको आशंका छ । माओवादी केन्द्रको तर्फबाट विजयी गुप्ताको घर सीमावर्ती पाल्हीनन्दन गाउँपालिका–३ मा पर्छ । धम्कीबारे पार्टी नेतृत्वमा समेत जानकारी गराएको उनले बताएका छन् ।