भद्रपुर/ झापामा गएराती प्रहरीले चार जना युवकलाई चोरी गरेको आरोपमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भद्रपुर ६ का २५ बर्षीय नरेश भट्टराई, ८ का २४ बर्षीय दीपेश सुब्बा, २४ बर्षीय आशिष तामाङ र १० का २२ बर्षीय प्रिसोज न्यौपाने रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भद्रपुर ८ स्थित सगरमाथा चोकमा निर्मल प्रधानले सञ्चलान गरेको कस्मिक रेष्टुरेण्डबाट मदिरा, वियर, चाउचाउ, मासु चोरी गरेको आरोपमा पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्सपेक्टर प्रकाश जवेगुले जानकारी दिए । पक्राउ परेका उनीहरुले पसल पछाडीको ढोका फोडेर सामान चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले समातेको जवेगुले बताए । घटनापछि चारै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको उनले जनाए ।
केही महिना नगर क्षेत्रमा चोरीका घटनामा कमी आएपनि पुनः घटना बढेपछि स्थानीय त्रसिद बनेका छन् । नगर क्षेत्रबाट मोटरसाइकल, साइकल, जिन्सी सामान, मोवाइल, नगद लगायतको सामान घर तथा पसलबाट चोरी हुने गरेको छ । केहि महिना अघि पनि भद्रपुर क्षेत्रवाट चोरहरु पक्राउ परेका थिए ।