विराटनगर/ विराटनगरका व्यवसायी ४९ वर्षीय पशुपति भगतमाथि शुक्रबार राति साङ्घातिक आक्रमण भएको छ। पेट्रोलियम एवं सब्जी व्यवसायी भगतमाथि पेशेवार रुपमा गुण्डागर्दीमा संलग्न समूहले आक्रमण गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।
कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि राति नै विराट नर्सिङ होममा लगिएको छ। उपचारमा संलग्न चिकित्सकले शल्यक्रिया गर्नु पर्ने बताएका छन्। उनीमाथि शरीरका विभिन्न भागमा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। घाइतेको देव्रे घुँडाको हड्डी आधा काटिएको छ। देव्रे हात र ढाडमा पनि खुकुरीले काटेको गहिरो चोट छ।
उपचारमा संलग्न बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रदीपकुमार गुप्ताले घाइतेको अवस्था गम्भीर रहेको बताए। उनले भने ‘घुँडाको हड्डी र शरीरका विभिन्न भागका नशाहरु काटिएका छन्। अत्याधिक रक्तश्राव भएकाले शरीरमा रगतको मात्रा पनि कम हुँदै गएको पाइयो।'
भगतको विराटनगर बसपार्कमा अन्नपूर्ण सप्लायर्स पेट्रोल पम्प छ। उनी गुद्रीका आलु, प्याज र लसुनका थोक विक्रेता पनि हुन्। मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार गुद्रीमा रहेको सब्जी पसल बन्द गरेर विराटनगर ११ जनपथस्थित घर फर्कने क्रममा राति ८ बजे बाटो ढुकेर बसेका पेशेवर गुण्डा समूहले भगतमाथि आक्रमण गरेको हो। उनका अनुसार शरीरका विभिन्न भागमा खुकुरी, मुक्का र भाटा प्रहार गरिएको छ।
अन्नपूर्णपाेष्टबाट