[caption id="attachment_14326" align="aligncenter" width="640"] फायलफाेटाे[/caption]

शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरका सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुले सरोकारवाला सवै पक्षसँगको अन्तरक्रियाबाट वसोवासको समस्या समाधान गर्न नगरपालिका कार्यालयसँग अनुरोध गरेका छन् ।

जहरमान लिम्बूको संयोजकत्वमा गठित सुकुम्वासी तथा अव्यवस्थित बसोवास व्यवस्थापन प्रतिनिधिमण्डलले नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै यसखाले सुझावसहितको माग गरेको हो । नगरप्रमुख दिलिपकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै संयोजक लिम्बूले ४ बुँदे माग रहेको ज्ञापनपत्र पेश गरेका थिए ।

ज्ञापनपत्रमा, सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या नगर कार्यपालिकाको स्थलगत अध्ययन गरेर संकलित लगतका आधारमा समाधान गरिनु पर्ने उल्लेख गरिएको छ ।

अर्कातर्फ, २०२८, २०३५ र २०३६ सालदेखि जोतभोग र वसोवास गरिआएको जग्गा जोतभोगकै आधारमा नापनक्सा गरी धनीपूर्जा वितरण र पुरानो श्रेस्तामा जंगल जनिएको भएपनि वसोवास भइरहेको कुरालाई हेरेर श्रेस्ता सच्याउनु पर्ने माग अघि सारिएको छ । यसका साथै विगतको वसन्त भट्टराई र लालवावु पण्डित अध्यक्ष रहेको आयोगले वितरण भएको पूर्जाको मोठ कायम गरिनु पर्ने उल्लेख छ । आयोगले पूर्जा वितरण गर्दा अर्काको भोगचलनको जग्गा समेत केही ठाउँमा मिचिएकाले श्रेस्ता सच्याउनु पर्ने सुझाव पेश गरिएको छ ।

नगरपालिकाले गत पुस १३ गते ३५ दिने सूचना प्रकाशित गरी वसोवास गर्नेहरुको तथ्यांक माग गरेको प्रसंगमा सक्कली सुकुम्वासी र अव्यवस्थित बसोवासीको पक्षमा हुने गरी काम कारबाही गर्नुपर्ने कुरामा नगरपालिकाको ध्यानाकर्षण गरिएको संयोजक लिम्बूले बताए ।

ज्ञापनपत्र बुझिसकेपछि बोल्दै नगरप्रमुख राईले सक्कली सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्यालाई केलाएर सरोकारवाला पक्षसँगको अन्तरक्रियाबाट मात्र वसोवासको समस्या समाधान गरिने जवाफ दिएका छन् ।