एउटा खुकुरीको मुल्य कति पर्ला ? १ देखि २ हजार वा बढीमा पाँच हजार । तर एउटा खुकुरीको मुल्य रु १ लाख भन्दा तपार्इलार्इ विश्वास नलाग्न सक्छ ।

बाग्लुङको ढोरपाटन नगरपालिकाका मनबहादुर श्रीपालीले बनाएको ३५ किलोको खुकुरीको मुल्य रु १ लाख रहेको छ । माघे संक्रान्तिको अवसरमा गुल्मीको रिडीमा आयोजना गरिएको मेलामा धेरैको ध्यान ३५ किलोको खुकुरीले तानेको छ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मनबहादुर श्रीपालीले बेच्न ल्याएको ३५ किलाको खुकुरी हेर्नेहरुको भीड नै लागेको छ ।

केही नौलो काम गरौं भन्ने सोचाइका साथ उक्त खुकुरी बनाएको बताउने सिर्पाली आफूले बनाएको खुकुरी मुलुककै सबैभन्दा ठूलो भएको दाबी गर्छन् । “६ महिनाअघि ३ जनाले ५ दिन लगाएर खुकुरी बनाएका हौं,” उनले भने, “दाप बनाउन पनि २ दिन लाग्यो ।”

उनले बुर्तिबाङ बजारमा खुकुरीहरुसँगै फलामका औजार बनाउन ८ जना कामदारसमेत राखेका छन् । रिडी मेलामा उनले १ सय वटा खुकुरी, खुाडा,दाऊ लगायतका सामग्री बेच्न ल्याएका थिए ।

श्रीपालीले बनाएका खुकुरीहरु बाग्लुङसँगै, रुकुम, रोल्पा, बुटवल, पोखरा, काठमाडौंमा पनि बिक्री गर्न लैजाने गरेका छन् । उनले निर्माण गरेका औजारको मूल्य ३ हजार देखि ६ हजार रुपैयाँसम्मका छन् । श्रीपालीले देशका विभिन्न ठाउामा हुने प्रदर्शनीमा खुकुरी प्रदर्शनीमा राखेर कतिपय पुरस्कारसमेत जितिसकेका छन् ।

अघिल्लो वर्ष फाल्गुनमा भृकुटीमण्डपमा सम्पन्न भएको राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा उक्त खुकुरी अवलोकनकर्ताको आकर्षण बनिरहेको थियो । उनका अनुसार मेलाको ४ दिनमा ३० हजारभन्दा बढीले खुकुरी वा खुकुरीसँग फोटो खिचाएका छन् । एक वर्ष अगाडीदेखि प्रदशनीमा राखिएतापनि उक्त खुकुरी अहिलेसम्म विक्री भने भएको छैन ।