बुटवल/ एउटै प्रकृति र एकै ठाउँका दुई युवा नेताको हत्या भएपछि हत्याराको खोजी गरी तत्काल कानूनी कारवाही गर्न प्रहरीमाथि दबाब परेको छ । एमाले निकट युवा संघका दुई नेताहरुको एक वर्षको अन्तरालमा हत्या भएपछि अहिले रुपन्देहीमा सुरक्षा चुनौतीका बारेमा पनि बहस चलिरहेको छ ।
रुपन्देहीको देवदह नगरपालिका–२ मा युवा संघका पूर्व क्षेत्रीय कमिटीका कोषाध्यक्ष एमाले कार्यकर्ता वसन्त पौडेल (बलु) को शुक्रबार विहान हत्या भयो । सोही ठाउँमा युवा संघका तत्कालिन जिल्ला अध्यक्ष दुर्गा तिवारीको गत वर्ष पुस ४ गते हत्या भएको थियो । श्रृंखलाबद्ध हत्याका घटनाले देवदह र परिवारजनमा मात्रै होइन सिङ्गो रुपन्देहीका सर्वसाधारणमा आक्रोशित भएका छन् । युवा संघले दुई दिनदेखि आन्दोलन जारी राखेको छ । हत्याको विरोधमा जिल्लामा क्रियाशील राजनीतिक दलहरु सबैले विज्ञप्ति मार्फत भत्सर्ना गरेका छन् । सामाजिक संघसंस्थाहरुले पनि हत्यामा संलग्नलाई तत्काल जवाफदेही बनाउन माग गरिरहेका छन् । युवा संघको अगुवाईमा हत्यारालाई कारवाहीको माग गर्दै भएको बन्द शनिबार पनि जारी रह्यो । बन्दका कारण जनजीवन भने प्रभावित भएको छ । सवारीका साधनहरुको लामो लाम लागेको र यात्रुहरु अलपत्र परेपछि बेलुकाको समयमा भएपनि बन्द फिर्ता लिन माग गरिएको छ ।
देवदह नपा–२ ढेकारका बलु पौडेल माथि मोटरसाइकलमा आएका दुइ जनाले गोलि प्रहार गरेका थिए । दाउरा किन्न आएको बताउँदै उनीहरुले एक्कासी गोली प्रहार गरेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले हत्यामा संलग्नको खोजी र अनुसन्धान भइरहेको बताए । पौडेललाई गोली प्रहार गरेका सुटरहरु गोली प्रहारपछि कोलो मोटरसाइकलमा चढेर धकधइतिर भागेको खबर आएपछि प्रहरीले तत्काल खोजी कार्य शुरु गरेको उनले बताए । तर, शनिबार बेलुकासम्म हत्यामा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।
कसरी भयो गोली प्रहार ? शुक्रवार विहान करिब ११ बजे वसन्त र उनकी श्रीमती स :मिल भएको स्थान देवदहकै ढेकारमा आगो तापेर वसेका थिए । कम्पाउण्ड भित्र आगो तापिरहेका उनीहरु भएको ठाउँमा दुई जना आए । मोटरसाइकलमा आएका उनीहरु मध्ये एक जनाले उनलाई तुरुन्तै गोली प्रहार गरेका थिए । गोली पौडेलको छातीमा लागेको थियो । छातिमा गोली लागेपछि पनि उनी भाग्ने प्रयास गरेका थिए तर, केही पर तोरी बारीमा पुगेर उनी त्यहीँ ढलेका थिए । दुवै जनासँग पेस्तोल भएको आशंका स्थानीयले गरेका छन् । गोली हानेपछि उनीहरु तत्कालै दक्षिणतिर भागेका थिए । गोली लागि गम्भीर घाइते भएका पौडेललाई तत्काल उपचारका लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको थियो ।
मनोज पुनको संलग्नता लुम्बिनी अञ्चल अस्पताल ल्याउँदासम्म पौडेलको अवस्था गम्भीर थियो । अञ्चल अस्पतालमा पुर्याइएसँगै उनलाई मृत घोषणा गरियो । त्यस लगत्तै मनोज पुन हूँ भन्ने एक जना व्यक्तिले बुटवलका केही पत्रकारलाई टेलिफोन गरेर आफूले हत्या गराएको दाबी गरे । ‘प्राइभट नम्बर’ उल्लेख भएर आएको कलमा मलेशियाबाट मनोज पुन भएको दाबी गरिएको छ । मलेसियाबाट मनोज पुन बोलेको हुँ भन्नेले ‘आफ्ना साथीहरुलाई सताएकाले ठोकिदिएको’ बताएको छ । सार्वजनिक भएको अडियो अनुसार टेलीफोनमा कुरा गर्ने पत्रकारले कुनै प्रश्न नगरेकाले उसले थप विवरण खोलेको छैन । फोनमा मलेसियाबाट वोलेको भनिएको भए पनि तयसलाई पुष्टि गर्ने आधार भने केही नभएको प्रहरी स्रोतको भनाइ छ ।
आखिर किन लिए त मनोज पुन भन्नेले हत्याको जिम्मा ? आखिर कहाँ छ मनोज पुन ? किन समात्न सकिरहेको छैन त प्रहरीले ? यी प्रश्न रुपन्देहीबासीको मन मनका बसेको छ । को हुन वसन्त ? व्यवसायी एवं एमाले कार्यकर्ता वसन्त पौडेल एमालेका पूर्व क्षेत्रीय कमिटीका सदस्य निलकण्ठ पौडेलका एक मात्र छोरा हुन् । साविकको केरवानी गाविसको पूर्व अध्यक्ष निलकण्ठ देवदह क्षेत्रका समाजसेवीका रुपमा पनि चिनिन्छन् । उनका छोरा वसन्तलाई पनि इमान्दारका रुपमा स्थानीयले लिने गरेका छन् । वसन्त फर्निचर उद्योग (उज्वल मिल) का सञ्चालक थिए । विगतमा युवा संघको क्षेत्रीय कोषाध्यक्ष भएर काम गरेका बसन्त युवा संघपछि पार्टीको सदस्य भएर रहेका थिए । युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारीसंगै युवा संघको राजनीतिमा सक्रिय बसन्त युवा संघमा इमान्दार पंक्तिमा गनिन्थे ।
स्थानीयमा त्रास बढ्यो यो दोस्रो घटनासँगै समुदायमा त्रास उत्पन्न भएको छ । स्थानीयहरु खुलेर प्रतिक्रिया दिन डराएका छन् । उनै मनोज पुन र उनका मान्छे बताउनेले वसन्तलाई कैयौं पटक टेलिफोन गरेर धम्क्याउने गरेका समाचारहरु सार्वजनिक भएका छन् । पारिवारीक स्रोतका अनुसार यसबारेमा बसन्तले सुरक्षा निकायमा जानकारी समेत गराइरहेका थिए । तर, त्यसलाई गम्भीर रुपमा लिएर अनुसन्धान गर्नेतर्फ सुरक्षा निकाय गएको पाइएन । एमालेका स्थानीय नेताहरुका अनुसार बसन्तलाई मनोज पुनका नाममा पटक–पटक धम्की आउने गरेको थियो । दुर्गा तिवारीको हत्या लगत्तै ‘अब तेरो पालो हो’ भन्ने धम्की बसन्तले पाएका थिए । धेरै धम्की आएपछि मोवाइल नम्वर परिवर्तन गरेका उनले गुण्डागर्दी तथा आतंकको विरोध गर्दै आएका कारण अपराधीको तारो बनेको स्थानीयको भनाइ छ ।
को हो मनोज ? युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलकोे हत्यामा संलग्न भनिएका मनोज पुन विगतमा राजनीतिक कार्यकर्ता थिए । सुरुमा माओवादी कार्यकर्ता रहेका उनी केही समय युवा संघमा प्रवेश गरेका थिए । युवा संघमा प्रवेश गरेर पनि उनी नसुध्रिएको भन्दै युवा संघले करिब ५ महिनामै कारवाही गरेर उनलाई निकालेको थियो । सोही बेलाको रिसिवि फेर्न यसरी हत्या गरेको हुनसक्ने केहीको अनुमान छ । देवदह न.पा. ६ का बर्ष २९ को मनोज पुन भन्ने मनोज बुढा मगरको समुहले पछिल्ला वर्षहरुमा चन्दा आंतक मच्चाउदै आएको गुनासो बढ्दै गएको छ । मनोज यी हत्या भन्दा अगाडि संगठित अपराध, हातहतियार खर खजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीले जनाउदै आएको छ । गत वर्ष २०७३ पुस ४ गते भएको एमालेको युवा संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको थियो । त्यसअघि ०७२ चैत ६ गते पनि दुर्गालाई २ वटा गोलि प्रहार गरिएकोमा उनी बचेका थिए । त्यतिबेला पनि मनोजकै संलग्नतामा घट्ना घटेको थियो र त्यसको करिब एक वर्ष पछि उसैको संलग्नतामा हत्या भयो ।
रूपन्देहीको देवदह नगरपालिका वडा नं.–८ स्थित खैरेनी चोकदेखि १ सय मिटर दक्षिणतर्फ बाटोमा अपरान्ह गोली प्रहारबाट घाइते भएका तिवारीको पनि उपचारको क्रममा मृत्यु भएको थियो । त्यस यता उद्योगी ब्यापारीलाई धम्की दिई फिरौती असुल्ने क्रम बढ्दो छ । तर, कुनै पनि उद्योगीले आफुलाई आएको फोन र चन्दाको धम्कीका बारेमा खुलेर प्रहरीलाई बताउन सकेका छैनन् । बेला बखतमा प्रहरीले केहीलाई पक्राउ गरेपनि मनोज पुनको जालो तोड्न अझै सकेको छैन ।
हत्याको चौतर्फी निन्दा पौडेल हत्याका चौतर्फी निन्दा र भ्रत्सना गरिएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देहीले संघका सदस्य उद्योगी, उज्जवल सःमिल उद्योगका संचालक बसन्त पौडेल ((बलु) माथी भएको गोली प्रहार र विभत्स हत्याले स्तब्ध भएको जनाएको छ । अध्यक्ष नवराज न्यौपाने र महासचिव दिनेशराज रेग्मीद्धारा जारी प्रेस विज्ञप्तिमा यस्तो क्रुर र अमानवीय घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, महासचिव माधवप्रसाद पौडेलले पनि विज्ञप्ती जारी गर्दै हत्याको निन्दा तथा भ्रत्सना गरेका छन् ।
हत्यारालाई कानूनी दायरामा ल्याउन माग यता नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । सोही ठाउँमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको प्रशंग जोड्दै एमाले नेता केसीले कुनै पनि मानेमा अभियुक्तलाई संरक्षण नगर्न ध्यानाकर्षण गराएका छन् । तिवारीको हत्या भएको ठिक १ वर्ष पछाडि फेरी यस्तो घटना भएपछि प्रहरी प्रशासनको कमी–कमजोरी प्रष्ट देखिएको एमालेको ठहर छ । विज्ञप्तीमा भनिएको छ–आम जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन नसक्नु प्रशासनको कमजोरी हो ।