धरान/घरपरिवारलाई थाहै नदिई एक युवतिलाई युरोप लान खोजेको आरोपमा एमाले धरान नगर कमिटी सदस्य एवम् प्रचार प्रसार विभाग प्रमुख शेरबहादुर परियार पक्राउ परेका छन् ।

श्रीमति सावित्रा परियारको उजुरीको आधारमा मोरङको पथरीबाट आइतबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । पक्राउपछि इलाका प्रहरी कार्यालयमा एक रात राखेर सोमबार धरान ल्याइएको थियो भने मंगलबार परिवारसँगको छलफलमा तारेखमा छाडिएको छ । तर, शेरबहादुर बुधबार र विहीबार नै तारेखमा नआएको डिएसपी पौडेलले बताए ।
शेरबहादुर तीन महिनाको लागि एक गैरसरकारी संस्थामार्फत् पोल्याण्ड गएका थिए । पोल्याण्डबाट फर्किए पनि घरपरिवारलाई जानकारी नै नगराई धरान–११ की एक युवतिलाई विदेश लाने तयारी गरेका थिए । ‘उहाँ नेपाली इन्ट्री भए पनि हामीलाई जानकारी नै भएन्, त्यसपछि मैले नै खोजी पाउँ भनेर प्रहरीमा उजुरी दिएकी थिएँ ।’ सावित्राले भनिन् ।
इलाका प्रहरीमा सावित्राले १५ दिन अघि ठाडो निवेदन दिएको डिएसपी पौडेलले बताए । डिएसपी पौडेलका अनुसार कल डिटेलेको आधारमा उनलाई पक्राउ गरिएको हो । पक्राउपछि छलफलमा शेरबहादुरले १५ दिन भित्र घरपरिवारमा लागेको ऋण चुक्ता गर्ने सहमति गरेर दुईपक्ष मिलापत्र गरेको डिएसपी पौडेलले बताए । उनले धरान–११ की एक युवतिलाई कागजपत्र मिलाए श्रीमती बनाई युरोप लाने तयारी गरेको थिए ।
‘उहाँले (शेरबहादुर) श्रीमती नै बनाउन लान आँटेको हाेइन भनेर भन्नुहुन्छ ।’ सावित्राले भनिन्, ‘वर्किङ भिषामा लान लागेको हो । उसलाई मात्रै लान लागेको हैन, ९ जनालाई लान लागेको भनेर भन्नुहुन्छ ।’ सावित्राले श्रीमती बनाएर नै लान लागेको हो÷होइन भन्ने बारेमा नखुलेको बताइन् । उनले थपिन्, ‘उनीहरुको चलखेल नै बुझिन । उहाँलाई विश्वास गर्ने आधार पाइन । त्यसैले ऋण चुक्ता गरिदिएर जानुपर्छ भनेर सहमति गरेँ ।’
यता शेरबहादुर पक्राउ परेलगत्तै एमाले पार्टीले बचाउ गरेको आरोप लागेको छ । उनको बचाउको लागि धरान उपमहानगरपालिका मेयर तारा सुब्बा तथा उपमेयर मञ्जु भण्डारी सुवेदी नै प्रहरी कार्यालय पुगेको बताइन्छ । तर, त्यस विषयमा मेयर तारा सुब्बाले भने समग्र परिवारको पक्षमा न्याय दिलाउनको लागि आफू प्रहरी कार्यालय पुगेको बताए । ‘घर किन आइनस् भनेर शेरबहादुरलाई हर्कान गएको थिएँ ।’ उनले टेलिफोनसम्पर्कमा भने, ‘उसको नियत के हो त्यो बुझ्न गएको हो ।’
मेयर सुब्बाले आफू पार्टी नगर अध्यक्ष हुँदा नै शेरबहादुरलगायत चारजनालाई पार्टीको सदस्य तथा प्रचार प्रसार विभाग प्रमुखबाट निस्काशन गरिसकेको बताए । शेरबहादुरको श्रीमती सावित्रा पनि एमाले धरान ८ नम्बर वडाको न्याय समितिको सदस्य हुन् । शेरबहादुर लामो समयसम्म वैदेशिक रोजगारी अन्तर्गत कतारमासमेत बसेका थिए । यता शेरबहादुरलाई फोन सम्पर्क गर्नको लागि उनको फोन नम्बर पत्ता लगाउने बारम्बार प्रयास गरिएको थियो ।