काठमाडौं/ आगामी बैसाखदेखि प्रदूषण मापदण्ड पालना नगर्ने सवारीसाधनलाई उपत्यका प्रवेशमै रोक लगाइने भएको छ। सबै नाकामा प्रदूषण जाँच गरी मापदण्डमा फेल हुने गाडीलाई उपत्यकामा प्रवेश नगर्न नदिइने गरी यातायात व्यवस्था विभागले तयारी थालेको छ।
उपत्यकाको प्रदूषण नियन्त्रणलाई कडाइसाथ लागू गर्न थोत्रा गाडी प्रवेशमा रोक लगाउन लागिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए। ‘प्रदूषण टेस्ट गर्ने सात वटा सेट खरिदको प्रक्रिया अघि बढिसकेको छ,’ भट्टराई भन्छन्, ‘सेट आएलगत्तै सबै नाकामा नियमित चेकजाँच हुन्छ, प्रदूषणसम्बन्धी मापदण्डमा फेल हुने सवारीसाधनलाई उपत्यका प्रवेश गर्न दिइन्न।’
एक महिनायता उपत्यकामा धेरै धुवाँ फाल्ने तथा थोत्रा गाडीविरुद्धको कारबाही तीव्र बनाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सक्रियतामा भएको जाँचमा करिब आधा सवारीसाधन फेल हुने गरेका छन्।
धेरै धुवाँ फाल्ने थोत्रा गाडीकै कारण उपत्यकामा प्रदूषण बढ्दै गएकाले सरकारले त्यसविरुद्ध सक्रियता बढाएको हो।
चारपांग्रे सवारी साधनले एकएक वर्षमा गाडी परीक्षण गराई हरियो स्टिकर लिनुपर्छ। तर, सम्बन्धित निकायहरु कमजोर हुँदा वर्षौंसम्म गाडी परीक्षण नगराई चलाउँदै आएका छन्। कतिपय गाडीको इन्जिन परिक्षण नै नगरी हरियो स्टिकर बिक्री हुने गरेको छ। पछिल्लो समय आस्कमिक रुपमा सडकमै जाँच हुन थालेपछि केही हदसम्म गाडीबाट हुने प्रदूषण कम भएको छ। जाँचमा फेल हुने सवारीसाधनलाई एक हजार रुपैयाँ जरिवाना गराइँदै आइएको छ।
सवारी थपिदै जाँदा राजधानीमा दिनप्रतिदिन वायु प्रदूषण बढिरहेको छ। तर, थोत्रा गाडीहरुको धुवाँले समस्या बढाएपछि त्यस्ता सवारीलाई नाकाबाटै प्रवेश रोक्न लागिएको हो। सरकारले २० वर्ष पुराना गाडीलाई हटाउने नीति पनि कार्यान्वयन सुरु गरिसकेको छ।
नेपाललाइभ