उदयपुर / पछिलो समय लागूऔषध नियन्त्रणमा सफलता प्राप्त गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले ठूलो परिणाममा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय आशिष कार्की, सोही नगरपालिका–६ का २४ वर्षीय सुरेन्द्र दास र बोक्से– १० का १८ वर्षीय सागर भुजेल रहेका छन् । आरोपीहरूको साथबाट प्रहरीले लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३४ एम्पुल र डाइजेल्याव ३७ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।
प्रउ भट्टका अनुसार कार्कीको साथबाट २८ एम्पुल, दासको साथबाट ३ एम्पुल र भुजेलको साथबाट ८४ एम्पुल लागूऔषध बरामद गरिएको छ । उनीहरूलाई नियमित जाँचको क्रममा त्रियुगा नगरपालिका–६ जलजलेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।