युएई/युएईको दुवईमा नेपाली पत्रकारमाथि आक्रमण भएको छ । दुबईको बर दुबईमा रहेको नेपाली चोक नजिकै बाटोमा हिँडिरहेका पत्रकार पृथीछक बुढामगरमाथि परिचय नखुलेका नेपालीकै समूहले शुक्रबार बेलुकी आक्रमण गरेको हो । अपरिचित व्यक्तिहरुले रुकुम मैकोटका बुढामगरलाई रडले टाउकोमा प्रहार गरेका थिए । उहाँको टाउकोमा चारवटा टाका लगाईएको छ भने हातमा पनि चोट लागेको छ ।

आक्रमणबाट घाइते भएका बुढामगर आफैं अल राफा प्रहरी चौकीमा गएका थिए । प्रहरीले बुढामगरलाई उपचारका लागि बराहा अस्पताल पुर्‍याएको थियो । आक्रमण गर्ने समूहबारे उजुरी दिन प्रहरीले भनेको र आक्रमण गर्ने समूह नेपाली भएको तर आफूले नचिनेको जानकारीसहितको उजुरी दिएको पत्रकार बुढामगरले उज्यालो अनलाइनलाई जानकारी दिए ।

लामो समय युएईमा रहेर पत्रकारिता गरिरहेका पत्रकार तथा लेखक बुढामगर यसै साता विदामा नेपाल फर्किंदै थिए । शुक्रबार पार्क घुमेर नजिकै रहेको क्यारिफोरमा सामान किनेर फर्किंदै गर्दा उनीमाथि आक्रमण भएको हो ।

शुक्रबार बेलुकी नै बरदुबईको लभडाँडामा रक्सी खाएका नेपालीबिच ग्याङ फाइट भएको छ । अघिल्लो हप्ता पनि त्यही ठाउँमा पत्रकारमाथि आक्रमण भएको थियो । पछिल्लो समय बरदुबईको सार्वजनिक ठाउँमा रक्सी खाएर मातेका नेपालीबिच झगडा हुने क्रम बढेको छ ।

आफूले लेखेको उपन्यास ‘बुलबुल’ प्रकाशनका लागि नेपाल फर्किन लागेका बुढामगरमाथि भएको आक्रमण प्रति जनप्रगतिशिल मोर्चा, मगर संघ, पत्रकार महासंघ युएईलगायतले बिरोध गरेका छन ।

उनीहरुले बरदुबई क्षेत्रका पार्कहरुमा नेपालीका अवैधानिक गतिविधि बढेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् । त्यसका लागि नेपाली दूतावासले कडाइ गर्नुका साथै चेतनामूलक कार्यक्रम गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

उज्यालाेखबर