प्यूठान/स्टेचर लिएर महिलाहरु बिरामीलाई बोकेजस्तै गरी झिमरुक नदी किनारतर्फ जाँदै थिए । स्थानीयले ठाने, यतै माथितिरको बिरामी होला ।
तीन महिलाहरु स्टेचर बोकेर बाटो मोडेर खोलातर्फ लागे । स्थानीयहरुले हेरिरहेका थिए । प्यूठान नगरपालिका –४, को खोला किनारमा स्टेचर बिसाएर उनीहरुले एकाएक खाडल खन्न थाले । गाउँलेहरु सबै त्यतैतर्फ लागे । स्थानीय बासिन्दाहरुले उनीहरुलाई खाडल खन्न दिएनन् । खाडल खन्न आएका अरु कुनै नभएर बिक परिवार थिए । बिकका आफन्तले शव गाड्न तयारी गरे पनि गाउँलेले उनीहरुलाई रोके । धेरै वर्ष पहिल्यै यहाँ शव गाड्ने गरिए पनि हिजोआज रोक लगाइएको छ ।
आमाको मृत्युको पीडामा छट्पटिएकी ऐरावती गाउँपालिका–३, निवासी राधालाई आमाको शव घरसम्म लैजान पनि निकै दुःख भोग्नुपर्यो । दमको बिमारले थलिएकी उनकी आमा हुमी बिकको प्यूठान अस्पताल बिजुवारमा मृत्यु भएको थियो । छिमेकीको सहयोगले छोरी राधाले आमालाई अस्पतालसम्म पुर्याएकी थिइन् । बुधबार अस्पताल भर्ना भएकी ७३ वर्षीया बिकको उपचारको क्रममा बिहीबार निधन भएको हो ।
आर्थिक रुपले विपन्न परिवारका उनलाई उपचार गराउन त कठिन थियो नै मृत्यु पश्चात घरसम्म लैजाने पैसासमेत थिएन । बिजुवारबाट घरसम्म लैजान गाडीमै चार घण्टा लाग्छ । आमाको शवलाई घरसम्म कसरी लैजाने भन्ने चिन्ताले राधालाई निकै सताएको थियो । मृत्युको खबर पाएपछि गाउँबाट छिमेकीहरु पनि आउँदै थिए । तर हिम्मत नहारी स्टेचरमै बोकेर उनीहरुले झिमरुक नदीको किनारमा लगेका थिए ।
मृतकको शव गाड्नका लागि राधासँगै आएकी छिमेकी मंगला बिकले मद्दत गर्दै थिइन् । इलाका प्रहरी कार्यालय बिजुवारमा पुगेर मंगलाले गैँती र फरुवासमेत लगिन् । शव बोकेर खोलामा लगे पनि उनीहरुले गाड्ने ठाउँ भेटाएनन् । ‘अरुको ठाउँमा कसरी गाड्ने ?’, बिकले भनिन्, ‘घरमा गाडीमा लैजाने पैसा नभएपछि यहाँ आएका हौँ ।’
शव गाड्न र घरसम्म लैजान नसक्ने अवस्था थाहा पाएर खोला पुगेका त्यसै वडाका वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीको मद्धतले घरसम्म लैजाने मेसो मिल्यो । ‘आफ्नै अगाडिबाट स्टेचरमा गएको देखेको हुँ’, उनले भनिन् ‘बिरामी होला भन्ने ठानेको त शव पो रहेछ ।’ आर्थिक अभावमा महिलाहरुले शव गाड्ने तयारी गरेको थाहा पाएर राजभण्डारीले शववाहनमार्फत शव घरसम्म पुर्याइदिने व्यवस्था मिलाइन् ।
जनज्योति सामुदायिक ग्रामिण विकास संस्था र प्यूठान नगरपालिकाको सहकार्यमा शववाहनमा आमाको शव घरसम्मै लैजान पाएपछि छोरी राधालाई केही राहत महसुुस भएको थियो । जसोतसो घरसम्म आमाको शव पुर्याएर दाहसंस्कार गरे पनि बिक परिवारलाई किरिया खर्च र अन्य खर्च जुटाउने समस्या रहेको स्थानीयले बताएका छन् । राधाको बुवाको१५ वर्षअघि नै निधन भएको थियो ।
उज्यालो