रूकुम । रुकुम पूर्वका प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाले १० हजार ४३४ मत ल्याएर कांग्रेसका हरिशंकर घर्तीलाई पराजित गरेकी हुन्।
घर्तीले ४ हजार ४०६ मत प्राप्त गरेका थिए। त्यस्तै, रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा क्षेत्र नम्बर (क) मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई ३ हजार २८३ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का तेजबहादुर ओली विजयी भएका छन्। विजयी ओलीले ५ हजार ४२७ मत प्राप्त गर्दा पुनले दुई हजार १४४ मत प्राप्त गरेका थिए। यस्तै, प्रदेशसभा क्षेत्र नम्बर (ख)मा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भए। आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतलाई २ हजार ७०५ मतले पछि पार्दै माओवादी केन्द्रका पूर्णबहादुर घर्ती विजयी भएका छन्।
विजयी घर्तीले ५ हजार ८१६ मत प्राप्त गर्दा बस्नेतले ३ हजार १११ मत प्राप्त गरे। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएपछि अब समानुपातिक तर्फको मतगणना शुरु गरिएको छ।