रत्ननगरमा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
रत्ननगरको टिकौली स्थित पेट्रोलपम्प अगाडि बसले ठक्कर दिँदा भरतपुर महानगरपालिका– ६ का २६ वर्षीय शंकर भण्डारीको मृत्यु भएको हो। अर्का एक जनाको भने सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गएराति वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३१६६ नम्बरको बसले ठक्कर दिँदा सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नम्बरको स्कुटरमा सवार २ जनाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई राति नै उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो।
अस्पताल पुगेलगत्तै उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको थियो। बस र चालक इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।