झापा । बिहीबार भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापामा ६५ प्रतिशत मत झरेको छ ।
मतदानको प्रारभ्भिक बिवरण अनुसार झापामा ६५ प्रतिशत मतदान भएको झापाका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनु भयो ।
५ वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको झापामा नेपाली काग्रेस र बाम गठबन्धनकै उम्मेद्वारहरु बिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
कुल ५ लाख ८५ हजार १ सय ६६ मतदाता रहेका झापाका ५ वटै निर्वाचन क्षेत्रमा आज बिहान ७ बजेदेखि नै शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान गरेका थिए । निर्वाचन क्षेत्रबाट मत पेटिका अहिले जम्मा गरी मतगणना स्थानमा ल्याउने तयारी भइरहेको छ ।
आज भएको मतदानमा काँग्रेस नेता तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद सिटौलाले भद्रपुर नगरपालिका वडा नं. १० को कलबलगुडीमा रहेको मतदान केन्द्रमा बिहान ८ बजे मतदान गर्नु भयो भने काँग्रेस केन्द्रीय सदस्य झापा १ का प्रतिनिधि सभा उम्मेद्वार बिश्वप्रकाश शर्माले मेचीनगर वडा नं. ९ स्थीत कविशिरोमणी माबिमा रहेको मतदान केन्द्रबाट बिहान ८ः१५ मा मतदान गर्नु भयो ।
झापा ५ का उम्मेद्वार तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्नु भएको एमाले स्रोतले जनाएको छ । त्यस्तै माओबादी नेता तथा झापा १ बाट बाम गठबन्धनका उम्मेद्वार सुरेन्द्रकुमार कार्कीले मतदान गर्नु भएन । काठमाण्डौमा मतदाता नामवली रहनु भएका कार्की झापा १ मा नै रहेकाले वहाँले मतदानमा सहभागि हुन पाउनु भएन । त्यस्तै झापा ३ बाट बाम गठबन्धनको समर्थनमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले हल्दीबारीबाट मतदान गर्नु भएको छ ।
आज रातीसम्म जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका मतगणना स्थल जिल्ला समन्वय समितिमा पुर्याइने र सर्वदलीय बैठक बसी भोली बिहानबाट गणना सुरु हुनसक्ने निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताउनुभयो ।